काठमाडौं, पुस २० : सुृदूरपश्चिम प्रदेशका भौतिक पूर्वााधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्। उनलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।
गत पुस २ गते मन्त्रीपुत्र बबीले चलाएको प्रदेश ०१–०२५ च ६६५५ नम्बरको गाडीले टीकापुरमा ९५ वर्षीया वृद्धालाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी दुर्गादेवी न्यौपानेको उपचारको क्रममा बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा पुस ११ गते मृत्यु भएको थियो।घाइतेको मृत्यु भएपछि फरार रहेका बबीलाई प्रहरीले सम्पर्क गरी उपस्थित हुन आग्रह गरेको थियो। उनी काठमाडौं भएको र दुई तीनदिन भित्र आउने बताएका थिए। मन्त्रीका छोरा भएका कारण प्रहरीले मन्त्रीलाई पनि घटनाको जानकारी गराएको थियो।
मन्त्री सोडारीले छोरा आउनासाथ पठाइदिने बताएका थिए। सोही अनुसार पुस १८ गते प्रहरीले बबीलाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडि बढाएको हो। सोमबार अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।












