अक्षयकोष स्थापना

प्रकाशित मिति:

भैरहवा, २१ पुस । भैरहवाका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिकवापतको रकमबाट अक्षयकोष स्थापना गरेका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को वडा सदस्यमा निर्वाचित नारायण प्रसाद उपाध्यायले आफ्नो आमा स्वर्गीय सावित्रा उपाध्यायको नामबाट अक्षयकोष स्थापना गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित उपाध्यायले पाँचवर्षे कार्यकालको तलब, भत्तावापत हुने ५ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजको रकम सिद्धार्थनगर वडा नम्बर ३ मा स्थायी बसोबास गर्ने विपन्न परिवारलाई सहयोग गर्ने उपाध्यायले बताए ।

‘अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजले आर्थिक अवस्था कमजोर भएका वडावासीलाई केही भए पनि सहयोग गर्ने उद्देश्यले स्व. आमाको नामबाट अक्षयकोष स्थापना गरेको छु, ’उनले भने । ब्याजको रकमले उपचार, क्रिया खर्च लगायतका कार्यमा सदुपयोग गरिने उनले बताए ।विगत सम्झिदै उनले भने, ‘रुपन्देहीको मनोहरापुरमा एक जना व्यक्तिलाई सर्पले टोकेको र उक्त बिरामी बुटवलको एक अस्पतालमा हुँदा एउटा सुई समेत किन्ने पैसा नहुँदा मृत्युको नजिक पुग्नुभएको थियो, त्यतिबेला मैले सुई किन्ने पैसा दिए । उहाँ बाँच्न सफल हुनुभयो, पछि उहाँ मलाई खोज्दै भैरहवा आउनुभयो । ’आर्थिक अभावमा रहेका नागरिकलाई केही भए पनि सहयोग पुगोस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ ।

‘सावित्रा उपाध्याय अक्षयकोष’नाम दिइएको उक्त अक्षयकोषको चेक भैरहवामा आयोजित एक कार्यक्रमकाबीच वडा सदस्य उपाध्याय र राप्रपा रुपन्देहीका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले अक्षयकोषका संरक्षक तथा तदर्थ समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका छन् ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व नगरप्रमुख राणाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समस्या समाधान गर्न कठिन अवस्थाको सिर्जना हुने गरेको बताए । यही अवस्थालाई मध्यनजर गर्दै आफूले पाएको पारिश्रमिकलाई सदुपयोग गर्दै वडाबासीको निम्ति भोलिका दिनमा सहयोगका लागि अक्षयकोष स्थापना गर्नु प्रशंसनीय रहेको बताए । उनले भने, ‘वडा सदस्य वडाबासीप्रति उत्तरदायी हुनुहुन्छ, यो उदाहरणीय छ । यसले अन्य समाजसेवीलाई पनि प्रेरणा दिनेछ भन्ने लागेको छ ।’

आगामी दिनमा पनि उपाध्याय पुनः निर्वाचित भएको अवस्थामा पाउने पारिश्रमिकबाट अक्षयकोषमा रकम थप्न उनले आग्रह गरे ।राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले पाँच वर्षमा पाएको तलब भत्ताबाट अक्षयकोषको स्थापना गर्नु आफैमा महत्वपूर्ण कार्य भएको बताए । उनले भने, ‘वडा सदस्य नारायण प्रसाद उपाध्याय एकदमै सहयोगी हुनुहुन्छ, जनताको मतबाट निर्वाचित भएपछि आफूले पाएको पारिश्रमिक जनताकै सेवामा खर्चिन अक्षयकोषको स्थापना गर्नुभएको छ, यस्तो कामको उच्च मुल्यांकन गर्नुपर्छ ।’अक्षयकोषका संरक्षक कृष्ण प्रसाद भण्डारीले अक्षयकोषबाट प्राप्त ब्याजको रकम सदुपयोग हुने बताए । राप्रपाका युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।