बुटवल । रुपन्देहीको ओमसतिया गाउंपालिका–६ नरैनापुरस्थित श्री छोटकी रामनगर मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सद्दाम अली पठान सर्वसम्मत चयन भएका छन् । शुक्रबार बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले पठानलाई अध्यक्षमा चयन गरेको ओमसतिया–६ का वडा अध्यक्ष शिव कुमार धवलले जानकारी दिए । यस्तै वैठकले महिला सदस्यमा शीला केवटलाई निर्वाचित गरेको छ ।
यसअघि विद्यालय व्यवस्थापन समितिको निर्वाचनले पाँच सदस्यीय समिति चयन गरेको थियो । जसमा सुभावति पासी, अमरवती हरिजन, तुलानाथ चौधरी र सुरेन्द्र कुमार केवट निर्वाचित भएका थिए ।
निर्वाचनमा गाउपालिका अध्यक्ष हिरा केवट, जनता समाजवादी पार्टीसहित दलको गठवन्धनका उम्मेदवारले हारेका थिए । एकजना सदस्य जनमत पार्टीका उम्मेवारले जितेका थिए । २ सय ५१ मत खसेको निर्वाचनमा सुरेन्द्रकुमार केवट, तुलानाथ चौधरी र चन्द्रभेसर केवट तीनैजनाको बराबर ८१ मत आएको हुंदा निर्वाचन मण्डलले गोलप्रथाबाट दुई जनालाई निर्वाचित गरेको थियो ।
शिक्षा ऐन अनुसार जनप्रतिनिधिको रुपमा ओमसतिया ६ का वडा अध्यक्ष शिव कुमार धवल र शिक्षकबाट राम कैलाश राजभर सचिव रहने व्यवस्था रहेको छ । । विद्यालय व्यवस्थापन समितिको पहिलो बसेको बैठकबाट शिक्षा ऐन अनुसार स्थानीय बुद्धिजिवी रुपमा सदस्य पदमा सद्दाम अलि पठानलाई नियुक्त गरेको थियो । युवा व्यक्तित्व सद्दाम अली पठान अध्यक्ष निर्वाचित भएपछि उनको कार्यकालमा विद्यालयले शैक्षिक प्रगति गर्ने विश्वास गरिएको वडा अध्यक्ष शिव कुमार धवलले बताए ।













