काठमाडौं, पुस २३ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाउने भएको छ ।राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतका ठाउँमा ठूलो भीड लाग्ने गरेपछि यस्तो निर्णय गरिएको हो ।राष्ट्रिय परिचयपत्र लिन काठमाडौंमा देखिएको पछिल्लो भीडभाडलाई दृष्टिगत गर्दै आइतबारदेखि काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट पनि अनलाईन सेवाका लागि दर्ता स्टेशन थप गर्न लागिएको विभागका निर्देशक ललितकुमार बस्नेतले जानकारी दिएका हुन् ।
सबै जिल्ला प्रशासन कार्यालयहरुमा विद्युतीय राहदानीको अनलाइन आवेदन लिने सेवा प्रारम्भ भइनसकेकोले राहदानी बनाउन काठमाडौं आउने नागरिकको हित र सुविधालाई मध्यनजर गरी तत्कालका लागि बागमती प्रदेशको ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था मिलाइएको जनाईएको छ । यस्तै ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसर साविकको राहदानी विभाग मा व्यवस्था मिलाईएको छ ।












