देवदहमा मगर सांस्कृतिक महोत्सव हुने

प्रकाशित मिति:

देवदह, पुस । नेपाल मगर संघ देवदह नगर समितिले देवदहमा माघे संक्रान्ति विशेष बृहत सांस्कृतिक महोत्सव गर्ने भएको छ । शनिबार देवदहमा पत्रकार सम्मेलन गर्दै संघले माघ १ गते मगर समुदायको मुख्य सांस्कृतिक तथा मौलिक पर्व भएको जनाउँदै देवदहमा तेस्रो सांस्कृतिक महोत्सव गर्ने घोंषणा गरेको हो ।

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक एवम बहुसांस्कृतिक विविधताले सजिएको देश भएको उल्लेख गर्दै मगर समुदायको संस्कृतिको रक्षा र विकासका लागि सांस्कृतिक महोत्सव गर्न लागिएको संघका अध्यक्ष शोभाकुमारी थापा मगरले बताइन् ।महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न संघका कोषाध्यक्ष मिलन मास्की रानाको संयोजकत्वमा मुल आयोजक समिती बनाईएको छ । त्यसैगरी प्रेम थापा मगरको संयोजकत्वमा सांस्कृतिक उप–समिती, भुवन खासुमगरको संयोजकत्वमा खेलकुद उपसमिति, ताराबहादुर थापामगरको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति गठन गरिएको संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मुल समिति संयोजक रानाले २०७५ देखि निरन्तर हुँदै आएको महोत्सव गत दुई वर्ष कोभिडका कारण रोकिएको भए पनि यो पटक भने स्वास्थ्य मापदण्ड अपनाएर गरिने बताए ।महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथमा मगर जातिको संस्कार झल्किने सोरठी, सालैजो, घाटु, ठाडो भाका जस्ता मौलिक गीत र नृत्यको अवलोकन गर्न सकिने सांस्कृतिक उपसमिति संयोजक प्रेम थापाले बताए ।त्यसैगरी महोत्सवमा छेलो फाल्ने, घैटो फुटाल्ने र तीन खुट्टे दौड लगायतका खेलको मज्जा लिंदै मगर समुदायका परिकारहरू सेल रोटि, खिचडी, तरुल, बटुकको स्वाद लिन सकिने आयोजकले जनाएको छ ।

सांस्कृतिक महोत्सवकै क्रममा लिगलिगे दौडको आयोजना गरिने देवदह मगर संघले जनाएको छ । देवदहका १२ वटै वडाका मगर समुदायका युवा युवतीको विचमा प्रतिस्पर्धा हुने र एक जना विजेता छानिने खेलकुद संयोजक भुवन खासुले बताए ।तीन किलोमीटरको दुरीमा हुने उक्त दौडमा प्रथम हुनेलाई एक वर्षको लागि लिगलिगे प्रमुख घोषणा गरिने र अर्को वर्ष साविक विजेता पुनः प्रतिस्पर्धामा जान नचाहेमा वा पुनः विजेता नभएमा मगर संघको झण्डा नयाँ विजेतालाई हस्तान्तरण गर्ने सांस्कृतिक उपसमिति संयोजक प्रेम थापाले बताए ।आयोजकले पहिलो हुने धावकलाई राजा मानेर श्रीपेच लगाइदिनुका साथै ६० हजार पुरस्कार दिने प्रचलन छ ।