गुल्मी चारपाला को तेस्रो साधारण सभा सम्पन्न

प्रकाशित मिति:

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी ज्येष्ठ नागरिक तथा समाजसेवी  जगननाथ पौडेलले छोटो समयमै राम्रा काम गरेर अघि बढेको गुल्मीको शाख जोगाउने संस्थाप्रति आभार प्रकट गरे । उनले संस्थाको प्रगतिको कामना गर्दै गुल्मीबाट रुपन्देहीमा बसाई सराई गरेर आएपनि आफ्नो जन्मथलो र समाजका लागि सामाजिक कार्य गरिरहने संस्थाका पदाधिकारीलाई आग्रह गरे । त्यस्तै कार्यक्रममा सल्लाहकारहरु सावित्रा टण्डन, लक्ष्मण अर्याल, गोविन्द प्रसाद अर्याल , गोकर्ण थापा लगायतले संस्था तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना दिंदै संस्थाले गरेको हरेक कामले समाजमा सकारात्मक सन्देश दिएको र आफुहरु संस्थामा आवद्ध हुन पाउंदा खुसी लागेको बताए ।

शनिवार आयोजित सभा साथै वनभोज कार्यक्रममा २ सय भन्दा बढी सदस्य सहभागि भएको वनभोज संयोजक भिमसेन कार्कीले बताए । उनले वनभोज कार्यक्रममा विभिन्न खेल प्रतियोगिता समेत आयोजना गरेको जानकारी दिए ।साधारण सभा संयोजक उषा खत्रीले गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापनाको तेस्रो वर्षसम्म आइपुग्दा राहत वितरण, रक्तदान, विपन्नलाई सहयोग र आफ्ना सदस्यहरुलाई समेत भइ परि आउंदा सहयोग गर्ने गरेको बताइन् ।

कार्यक्रममा आयोजित कुर्ची रेस खेलमा १५ जनाले सहभागिता जनाएको थिए । खेलमा दीपा कुंवर प्रथम र मनु खत्री द्धितीय भएका थिए भने गुबाडा फुटाउने प्रतियोगितामाशिव बस्नेत प्रथम भए । त्यस्तै, चम्चा दौड प्रतियोगितामा एन्जल मगर र बिहान टण्डन पुरस्कृत हुन सफल भएका थिए । उनीहरुलाई संस्थाका आजिवन सदस्य रमेश कार्कीले पुरस्कार प्रदान गरे । कार्यक्रममा एकल महिला सुशिला देवी खत्रीलाई सम्मान समेत गरिएको संयोजक खत्रीले जनाइन् । कार्यक्रम संस्थाका अध्यक्ष हुमनाथ ज्ञवालीको अध्यक्षता तथा सचिव विकास टण्डनको संचालनमा सम्पन्न भएको थियो । उनले कार्यक्रम सफल बनाउन सघाउने सबैलाई धन्यवाद समेत दिएका थिए ।