पुस, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’को टिमले पोखरामा छायांकनका क्रममा स्वर मन पराएपछि समीक्षा अधिकारीलाई काठमाडौं ल्याएको थियो । समीक्षालाई निर्देशक विकासराज आचार्यले चलचित्र ‘नाइँ नभन्नु ल ५’मा समावेश हिट गीत ‘कहाँ आउँछ र घुमेर’ बोलको गीतमा स्वर भर्न लगाए । यो गीत हिट भएपछि समीक्षाले पछाडि फर्केर हेर्नुपरेको छैन । आजका दिनसम्म समीक्षाले स्वर भरेका दर्जनौं गीतले नेपाली सांगीतिक बजारमा दर्शकको साथ पाएका छन् । यसैले त उनलाई स्टेजदेखि स्टुडियोसम्म भ्याइनभ्याइ छ ।
समीक्षाले आफू महोत्सवमा सहभागी हुनका लागि नवलपुरको अरुण खोला पुगेको जानकारी गराइन् । अरुण खोलाबाट टेलिफोनमा कुराकानी गर्दै यी गायिकाले लकडाउनयता आफूले करिब तीन दर्जन महोत्सवमा सहभागिता जनाइसकेको जानकारी दिइन् ।सबैतिरका महोत्सवबाट आयोजकले बोलाइरहनुभएको छ । तर, माघ १ गतेबाट सरकारले २५ जना भन्दा बढी मानिसहरु एकसाथ भेला हुन नपाउने नियम ल्याएकाले पनि धेरै कार्यक्रम रद्द हुने सम्भावना छ । नभए मेरो आगामी सेड्युल पनि लामो थियो,’ उनले भनिन् । समीक्षाको व्यस्तता स्टेजमा मात्र होइन, स्टुडियोमा पनि उस्तै छ । दैनिक एक दर्जन हाराहारीमा म्युजिक भिडियो सार्वजनिक हुने सांगीतिक बजारमा समीक्षाको स्वर समावेश भएका गीत हुँदैनन् भन्दा पनि हुन्छ । समीक्षाका अनुसार उनले अहिले दिनमा दुईवटासम्म गीत रेकर्ड गरिरहेकी छन् । केही महिनाअघि आफ्नै स्वास्थ्यका कारण केही समय विश्राम लिएकी यी गायिका अहिले फेरि गायनमा व्यस्त छिन् ।
स्टेजमा गीत प्रस्तुत गर्दै समीक्षा अधिकारी-समीक्षा केही दिनअघि ‘कमेडी च्याम्पियन’को टिमसँग दुबईमा आयोजना भएको कार्यक्रममा समेत सहभागी भएर फर्किएकी थिइन् । सांगीतिक प्रस्तुतिका लागि उनी पहिलो पटक विदेश पुगेकी थिइन् ।समीक्षाले स्टेज कार्यक्रमका लागि आफूले महंगो पारिश्रमिक नलिने बताइन् । उनले भनिन्, ‘अहिलेको परिस्थितिले पनि हामीले आयोजकसँग चर्को पारिश्रमिक लिनु हुँदैन । यसैले मैले आफ्नो मिहिनेत अनुसारको पारिश्रमिक माग्छु ।’समीक्षाले स्वर भरेका नबोली नबोली, माया मारेर, पिपलु बर, मैले बोलाको छैन, तिम्रै मायाले, केटो अलि खान्दानी होस्, माया देकै हो, पछ्यौरी लिस्यो, सुर्ती माड्दै, उसलाई पाउन लगायतका गीत चर्चित छन् ।@onlinekhabar












