पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती : राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग

प्रकाशित मिति:

काठमाडौँ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।यस वर्ष पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती मनाइँदैछ ।विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा बनेका थिए ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थियो । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।नेपाल एकीकरणको सुरुवात गरेका मानिने पृथ्वीनारायण शाहको सम्झनामा मंगलबार देशभर विभिन्न कार्यक्रम गरी ३०० औँ जन्मजयन्ती मनाइँदैछ ।नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदैछन् ।यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले दिउँसो पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम छ । गणतन्त्र आउनु पूर्व राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिएको पृथ्वी जयन्तीलाई फेरि राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आएको छ ।