३ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको ठूलो जहाज (ए३२०/३३) जहाजबाट परीक्षण उडान गरिने भएको छ ।विमानस्थलको परीक्षण पूरा गरी व्यवसायिक सञ्चालनमा ल्याउने सन्दर्भमा सोमबार पर्यटन मन्त्रालयले प्राधिकरणसँग छलफल गरेको छ । सो क्रममा प्राधिकरणले प्रस्तुत गरेको योजना अनुसार परीक्षण उडानका लागि नेपाल एयरलाइन्सको ठूलो जहाज प्रयोग हुनेछ ।प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार भैरहवास्थित गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउन आजैबाट ‘मिसन भैरहवा विमानस्थल’ शुरु गरिएको छ । यो आयोजनामा उपकरण जडानसहित प्राविधिक कामको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड ९एरोथाई०ले पाएको छ । क्यालिब्रेसन फ्लाइटको जिम्मा पनि उसकै हो । उनका अनुसार एरोथाई कम्पनीले क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम चरणका काम गरिरहेको छ ।
यो काम पूरा गरेसँगै सोही कम्पनीबाट २४ जनवरीमा विशेषज्ञको टीम नेपाल आउँदैछ । सो टिमले २५ जनवरीबाट काम शुरु गर्नेछ । उक्त कम्पनीले दिएको अनुमानित मिति अनुसार १० फेब्रुअरी वा यस आसपासको दिनमा उपकरणजडित विशेष जहाज नेपाल ल्याइने छ । उक्त जहाजबाट यान्त्रिक उपकरणहरुले काम गरे–नगरेको अध्ययन गरिने छ । त्यसको एकरदुई दिनमै नेपाल एयरलाइन्सको एयरबस जहाजबाट परीक्षण उडान गर्ने गरी कार्यतालिका बनेको ठाकुरले अनलाइनखबरलाई जानकारी दिए ।‘हामी भैरहवा विमानस्थलको संचालनमा केन्द्रित भएका छौं,’ उनले भने, ‘त्यसकारण अब मिसन भैरहवा विमानस्थल नै नाम दिएर कामलाई तिब्रता दिन्छौं ।’क्यालिब्रेसन उडानका दौरान कन्ट्रोल टावरको समेत परीक्षण हुने भएको छ । क्यालिब्रेसन फ्लाइटबाटै उपकरणहरुले काम गरेरनगरेको पत्ता लाग्ने ठाकुरले जानकारी दिए । क्यालिब्रेसन उडानमार्फत विमानस्थलमा जडान भएका संचारदेखि उडान–अवतरणका लागि आवश्यक अन्य उपकरणहरुले काम गरे–नगरेको परीक्षण हुन्छ । यसअघि गत डिसेम्बरमै क्यालिब्रेसन उडानको तयारी गरिएको थियो । त्यसबेला प्राविधिक आएर अध्ययन गरेको र मौसम सफा भएपछि उडान गर्ने जानकारी पर्यटन मन्त्री प्रेम आलेले बताएका थिए । क्यालिब्रेसन र परीक्षण उडानपछि आन्तरिक उडान नयाँ धावनमार्गबाट क्यालिब्रेसन उडान र परीक्षण उडानपछि यो विमानस्थल संचालनका लागि योग्य बन्ने छ । तर, तत्काल भने विदेशी उडान हुने छैन ।
अन्तर्राष्ट्रिय उडानमा जानु अगाडी कम्पनीहरुबाट ५६ दिनको समय राखेर प्रस्ताव आह्वान गर्नुपर्ने प्रावधान रहेको ठाकुरले जानकारी दिए । तर, परीक्षण सफल भएपछि आन्तरिक उडान भने नयाँ धावनमार्गबाटै गरिने छ ।यस अवधिमा अध्यागमन, भन्सार, सेना, प्रहरी, ग्राउण्ड ह्याडिलिङसहित अन्य निकायले समेत आफ्नो संरचना तथा प्रविधि जडानको काम पुरा गरिसक्ने छन् । त्यसपछि भने गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा संचालन हुनेछ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ । यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले गरेको हो । आइसीबी टू तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो ।











