जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो सबै सेवाहरु अर्को सूचना नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले शान्ति सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
कार्यालयले कोभिड संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्याधिक भिडभाड भै कोभिड थप फैलिन सक्ने जनाउँदै सेवा बन्द गरिएको जनाएको छ । बन्द गरिएका सेवाहरुमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता÷नवीकरण, पेन्सन सिफारिस÷प्रमाणित, नाबालक परिचयपत्र लगायत रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनाअनुसार अत्यावश्यक सेवा लिन आउनेका लागि पनि खोप कार्ड अनिवार्य गरिएको छ । पछिल्ला दिन यहाँ कोरोना संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्दै गएको छ ।











