राष्ट्रिय सभा निर्वाचनः लुम्बिनीमा गठबन्धन उम्मेदवारको जित सुनिश्चित, मतभार कति ?

प्रकाशित मिति:

दाङ । राष्ट्रियसभा सदस्यका लागि १२ माघमा हुन लागेको निर्वाचनमा लुम्बिनी प्रदेशमा तीन पदका लागि मतदान हुँदैछ ।२० फागुनदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिने भएका कारण १२ माघमा सबै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन गर्न लागिएको हो ।लुम्बिनी प्रदेशको राजधानी दाङको घोराहीमा निर्वाचनको हुँदैछ । निर्वाचनमा तीन पदका लागि ६ जनाको प्रतिस्पर्धा छ । गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार प्रस्तुत भएका छन् भने एमाले एक्लै चुनावी प्रक्रियामा सामेल भएको छ ।निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट तीनजना उम्मेदवार छन् । दलीय सहमतिअनुसार नेपाली कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीका एक–एकजनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा राजमोको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार बन्नुभएको छ । खुलाबाट शर्माले महिलाबाट गैरेले र दलितबाट विश्वकर्माले उम्मेदवारी दिनुभएको हो ।

एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेदवार बन्नुभएको छ ।लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय सभाको मतभार सात हजार सात सय ५८ रहेको छ । मतभारका आधारमा गठबन्धनका उम्मेदवारको पक्षमा बहुमत हुने देखिन्छ । त्यैले लुम्बिनीमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चितप्रायः छ ।एक वर्षअघि भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरेका थिए । राष्ट्रिय सभाको निर्वाचनमा कुल ३०५ मतदाता हुनुपर्ने लुम्बिनीमा नौजना मतदाता रिक्त छ । ८७ प्रदेश सभा सदस्यबाट ८१ जना र २१८ मतदाता रहेको स्थानीय तहबाट २१५ जनाले मत दिनेछन् ।स्थानीय तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष विपक्षी गठबन्धनका बढी छन् । लुम्बिनीका स्थानीय तहमा कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ भने उपमेयर १० स्थानमा जितेको छ । गाँउपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ भने उपाध्यक्ष ३० स्थानमा जितेको छ । त्यसअनुसार कांग्रेसका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी ६३ मतदाता छन् ।

माओवादी केन्द्रका ३६ प्रमुख उपप्रमुख छन् । एकीकृत समाजवादीका चारजना प्रमुख, उपप्रमुख छन् । जसपाका १३ प्रमुख, उपप्रमुख छन् । जनमोर्चामा पाँच प्रमुख, उपप्रमुख छन् । राप्रपाका दुई र स्वतन्त्र चार प्रमुख, उपप्रमुख छन् । एमालेका ८८ प्रमुख,उपप्रमुख छन् ।प्रदेश सभा सदस्यमा एमालेका ३६, कांग्रेसका १९, माओवादीका १९, जसपाका चार, राजमोको एक, एकीकृत समाजवादीका एकजना छन् ।प्रदेश सभा सदस्यको मतभार ४८ र पालिका प्रमुख, उपप्रमुखको १८ मतभार रहेको छ। यसरी हेर्दा गठबन्धनका उम्मेदवारहरूको मतभार धेरै हुने देखिन्छ । प्रदेश सांसदको मतभार तीन हजार आठ सय ८८ र पालिका प्रमुख, उपप्रमुखको मतभार तीन हजार आठ सय ७० रहेको छ ।