लुम्बिनीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

प्रकाशित मिति:

१२ माघ, दाङ । लुम्बिनीको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।लुम्बिनीमा तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

शर्माले ४३४४ मतभार प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदयाल गुप्ताले ३३७८ मतभार पाए ।त्यस्तै महिलातर्फकी उम्मेदवार गैरेले ४,३७४ र उनकी प्रतिद्वन्द्वी एमालेकी भारती खनालले ३,३१२ मतभार प्राप्त गरेकी छन् ।दलिततर्फ विश्वकर्माले ४३५६ मतभार र प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३३४८ मत प्राप्त गरेका छन् ।निर्वाचनमा प्रदेश सभा सदस्य एक बराबर ४८ र स्थानीय तह तर्फ एक सदस्य बराबर १८ मतभार तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुल २९६ मतदातामध्ये २९४ मत खसेको थियो । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१३ मत र प्रदेशसभा सदस्यको ८१ खसेको थियो ।दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे सुरु भएर ३ बजे सकिएको थियो ।