बुटवलमा बन्यो कराँते डो एकेडेमीको कभर्डहल

प्रकाशित मिति:

रूपन्देहीको बुटवल उपमहानगरपालिकाले खेलकुदको विकास, सम्बर्द्धन र प्रवद्र्धनका लागि भन्दै कराँतेको एकेडेमी स्थापना गरेको छ । बुटवल–१०, कालिकानगरमा उपमहानगरले कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन निर्माण गरेको छ ।कराँतेका विभिन्न इभेन्ट्सको प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्नेगरी निर्माण गरिएको एकेडेमी भवनको बिहीबार प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे ।

उक्त एकेडेमी भवनको उद्घाटन गर्दै प्रमुख सुवेदीले खेलकुदका माध्यमबाट समृद्धि हासिल हुन सक्ने भएकाले उपमहानगरले खेलकुदको समग्र विकासलाई प्राथिमकतामा राखेर नीति कार्यक्रम र बजेटको प्रबन्ध गरिएको बताए ।उनले नगर खेलकुद विकास समिति गठन गर्नुका साथै त्यसमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले खेलकुदको पूर्वाधार विकासका साथै खेलाडीको उत्पादन, पहिचान, अवसर र प्रोत्साहनका लागि पनि उपमहानगरले विशेष रणनीतिका साथ कार्यक्रम गरिरहेको जानकारी दिए ।वडा नं.१० का अध्यक्ष पदम थापाले खेलकुदको समग्र विकास र प्रबर्द्धनका लागि वडा स्तरबाट समेत कार्यक्रम भइरहेको उल्लेख गर्दै एकेडेमीको भरपूर सदुपयोग गरेर त्यसमार्फत खेलाडी उत्पादनमा टेवा पुर्‍याउनुपर्नेमा जोड दिए ।

उक्त कराँते डो एकेडेमी कभर्डहल भवन उपमहानगर, वडा स्तरीय र उपभोक्तासमेतको ४६ लाख ३९ हजार बराबरको लगानीमा निर्माण भएको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले जानकारी दिए ।बुटवल उपमहानगरले खेलकुदका पूर्वाधार विकासका साथै विभिन्न वडामा गरि ४० स्थानमा बहुउद्देश्यीय खेलग्राम र खेलमैदान निर्माण गरेको छ । क्रिकेट, फुटबल, कराँते, ब्याडमिन्टन, टेनिसलगायत विभिन्न आउटडोर र इन्डोर खेलहरुलाई लक्षित गरेर खेलग्राम निर्माण गरिएको खेलकुद विकास समितिका अध्यक्ष काउचाको भनाइ छ ।