काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार १ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा शहीद दिवसका अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८’ पेश गर्नेछ ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।त्यसअघि सभामुख सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।
सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।












