चुनावको दबाबका लागि अनेरास्ववियुले देशभर आन्दोलन गर्ने

प्रकाशित मिति:

काठमाडौं । निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई दबाबका लागि प्रमुख प्रतिपक्ष नेकपा एमालेनिकटको अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अन्यथा लाखौं विद्यार्थीलाई सडकमा उतार्ने अध्यक्ष सुनिता बरालले विज्ञप्तिमार्फत चेतावनी दिएकी छन् ।

स्थानीय तहलाई प्रतिनिधिविहीन बनाउने अभिप्रायले गठबन्धन सरकार संवैधानिक व्यवस्था विपरीत चुनाव टार्ने प्रपञ्चमा लागेको भन्दै अनेरास्ववियुले देशभरबाट खबरदारी गर्ने भएको हो ।अनेरास्ववियुले माघ १७ (भोलि) देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने ।

भोलि नै देशैभर क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने । १८ गतेसम्म पनि मिति नतोकिए मन्त्री सहभागी कार्यक्रममा कालोझण्डा देखाउने । माघ १५ गते संघीय राजधानी र प्रदेश राजधानीमा कानूनविद्हरूको उपस्थितिमा सडक बहस गर्ने अनेरास्ववियुको कार्यक्रममा छ ।