चिनिया नयां वर्षमा अन्तरक्रिया

प्रकाशित मिति:

भैरहवा,१७ माघ- छिमेकी मित्र राष्ट्र चीनको नयां वर्षको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवामा अन्तरक्रिया एवं शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । चीनले अंग्रेजी वर्षको फेब्रुअरी १ तारिखलाई नयां वर्ष तथा राष्ट्रिय दिवसका रुपमा मनाउने गर्दछ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विश्वकै बलियो अर्थतन्त्र र सबैभन्दा धेरै जनसंख्या भएको नजिकैको छिमेकी देश चीनसंगको सम्बन्ध अझ बलियो र जनस्तरमा विस्तार गरी नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिए । सिद्धार्थनगर नगरपािलकाकी उपप्रमुख उमा काफ्लेले लुम्बिनी र बुद्धिजमलाई छिमेकी देश चीनसंगको सम्बन्धको प्राथमिकतामा राखेर चिनिया बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा ल्याउन सबैले भूमिका खेल्नुपर्ने बतायन् । करिब डेढ अर्ब जनसंख्या भएको चीनमा बौद्धमार्गीको वाहुल्यता भएकाले उनीहरुलाई नेपालमा आकर्षित गरी पर्यटनबाट लाभ लिन सकिने उनको भनाई थियो ।नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले चीन नेपालको असल र सहयोगी छिमेकी भएको उल्लेख गर्दै चिनिया राष्ट्रपति सी जिन फिङको कुशल नेतृत्व, चिनयिा जनताको मेहनत र अनुशासन तथा चीनको आर्थिक प्रगतिबाट नेपालले पाठ सिक्नुपर्ने बताए । उनले चिनियां नयां वर्ष र चीनले आयोजना गर्न लागेको ओलम्पिक प्रतियोगिताको सफलताको शुभकामना समेत दिए ।

कार्यक्रममा सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई,साहित्यकार विजय सागर श्रेष्ठ,समाजका महासचिव मनिष जोशी,कोषाध्यक्ष जनकराज पन्त लगायतले चीनले नयां वर्ष र राष्ट्रिय दिवसमा आफ्ना नागरिकलाई एक साता विदा दिने हुंदा सो विदाको अवधिमा चिनिया नागरिकलाई लुम्बिनी भ्रमणमा आकर्षित गर्नेतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने सुझाव दिए ।