काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ९अथक० को विशेष पहलमा गत कार्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्कारले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरिएको हो ।
यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रिय फुटबल टोलिका खेलाडी तथा प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरिसकेको छ । सो समयमा अल्मुताइरी नेपालमा नरहेकोले उनलाई आज एक कार्यक्रमकाबिच सम्मान पत्र र नगद पुरस्कार वितरण गरिएको हो ।











