संसद अन्यौलमा नराख्न एमालेलाई लुम्बिनी प्रदेश प्रमुखको आग्रह

प्रकाशित मिति:

रूपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ऐन कानुन बनाउने प्रदेशसभालाई अन्यौलमा नराखी सुचारु गर्न आग्रह गरेका छन् ।लुम्बिनी प्रदेश सभाको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले दलहरुबीचको मतभिन्नतालाई छुट्टै छलफलको विषय बनाएर संसद सुचारु गर्न आह्वान गरे ।प्रदेशसभाका समस्या आपसी छलफल र संवादवाट समाधान गर्न उनले आग्रह गरे । लुम्बिनी प्रदेशसभा विगत ६ महिनादेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गदै आएकोमा उनले छलफलबाट समस्या समाधान गर्न अपील गरे ।प्रदेशसभाले तीन वर्षको अवधिमा ५९ वटा कानुन बनाएकोमा पछिल्लो एक वर्षमा आठवटा थप कानुन सहित चार वर्षे अवधिमा ६७ वटा कानुन बनाएको छ ।प्रदेशसभा स्थापनादेखि नवौं अधिवेशनसम्म दर्ता भएका ७४ विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन अवस्थामा छन् । चारवटा विधेयक भने फिर्ता भएका छन् ।

प्रदेशसभाले तीन वर्षपछि दुई तिहाई बहुमतका आधारमा प्रदेशको स्थायी राजधानी तोक्न र नामकरण गर्न भने सफल भएको सभामुख पूर्ण बहादुर घर्तीले बताए ।कार्यक्रममा मुख्यमन्त्री कुल प्रसाद केसीले सरकार प्रदेशका जनताको भावना र प्रदेशको विकासमा प्रतिवद्ध रहेको बताए । उनले प्रदेशसभाको भवन स्थायी राजधानीमा निर्माणको अन्तिम चरणमा रहेको समेत बताए ।प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभाको अवरोध हटाउन र समितिहरूलाई पूर्णता दिने विषयमा सत्तापक्ष नै बढी जिम्मेवार हुनुपर्ने भएपनि ठोस पहल हुन नसकेको आरोप लगाए ।

सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले दलहरूबीच सहमति गरेर प्रदेशसभाको अवरोध हटाउने र संसदीय समितिका सभापति चयन गर्ने विषयमा गठबन्धनले पहल गरे पनि प्रमुख प्रतिपक्षले दुईजना सांसदको विषयलाई लिएर हलो अड्काउने काम गरिरहेको आरोप लगाए ।स्थापना दिवसका अवसरमा प्रदेशका १२ जिल्लाका माध्यमिक विद्यालयमा संघीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका विषयक निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, दोस्रो १० हजार, तेस्रो आठ हजार र सान्त्वना पाँच हजार रूपैयाँ राशीको पुरस्कार र प्रमाणपत्र समेत हस्तान्त्तरण गरिएको छ ।