काठमाडौं । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गर्न बाँकी रहँदा निर्वाचन आयोग भने चुनावको तयारीमा जुटेको छ ।
आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो । आयोगले आज सूचना प्रकाशित गर्दै तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिनेछ ।
निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट चित्रकला र ग्राफिक डिजाइनमा कम्तिमा स्नातक, दृष्टान्त चित्र र ग्राफिक डिजाइनमा कम्तिमा दुई वर्षको अनुभवी, रेखा चित्र तथा रंगिन चित्रसम्बन्धी दक्ष व्यक्तिले आवेदन दिन सक्ने आयोगले जनाएको छ ।











