मोटायो कांग्रेस : अव आठ जना पदाधिकारी रहने, केन्द्रीय कार्यसमितिको आकार बढ्यो !

प्रकाशित मिति:

४ पुस, काठमाडौ । नेपाली कांग्रेसको महासमिति बैठक केहीदिन लम्बिने भएको छ । पुस ३ गतेसम्म चल्ने भनिएको महासमिति बैठक विधानमा सहमति हुन नसक्दा लम्बिएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार हिजो साँझ विधानको मस्यौदामा सहमति भएपनि त्यसलाई औपचारिक रुप दिन भने बाँकी छ । लामो छलफलपछि कांग्रेसमा आठ जना पदाधिकारी रहने टुंगो लागेको हो । यससँगै अब कांग्रेसमा एक जना सभापति, दुई–दुई जनाका दरले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी कुल ६ जना र कोषाध्यक्ष एक गरी आठ जना पदाधिकारी रहनेछन् ।

पदाधिकारी बन्नका लागि कोषाध्यक्षबाहेकका सबै पदमा महाधिवेशनबाट निर्वाचित हुनुपर्नेछ । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जना कोषाध्यक्ष सभापतिले मनोनीत गर्नेगरी विधानको मस्यौदामा सहमति भएको हो । केन्द्रीय कार्यसमितिको आकार ८५ बाट बढाएर १६१ पुराइएको छ ।सभापतिले कुल सदस्यको २० प्रतिशत मनोनीत गर्न पाउने व्यवस्था गरिएको छ । विधानमा सहमति हुन नसकेपछि बैठक आज ९ बजेसम्मका लागि स्थगित भएको थियो ।