तनावग्रस्त बनेको बानेश्वर अहिले सामान्य

प्रकाशित मिति:

काठमाण्डौ – अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी को विरोधमा आज आइतवार भएको प्रदर्शनका क्रममा पक्राउ परेका १५ जना छुटेका छन् ।संसद् भवन नयाँ बानेश्वर परिसरमा प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ गरी केही व्यक्ति घाइते भएका छन् । नेपाल प्रहरीका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी विष्णुकुमार केसीका अनुसार १० जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका हुन् । प्रदर्शनका क्रममा माअ‍ोवादी निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित केही आन्दोलनकारी घाइते भएका हुन् ।

प्रदर्शनकारीको भिड तितरबितर गर्न प्रहरीले रबरको गोली, अश्रु ग्यास, लाठी चार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली बजार पुर्‍याए पनि उनीहरू फेरि बानेश्वर पुगेका थिए । आज दिनभरमा प्रदर्शनकारीले पटक–पटक निषेधित क्षेत्र तोडेका थिए । आज दिउँसो संसदमा एमसीसी टेबल भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको हो ।त्यसअघि बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन सुरु गरेका थिए । दिनभर तनावग्रस्त बानेश्वर क्षेत्र अहिले सामान्य भएको छ । साथै काठमाण्डौ उपत्यकामा अस्तव्यस्त यातायात पनि सामान्य भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।