पांचौं बर्दघाट मेला शुरु, आज देवी घर्ती,प्रचण्ड जीसी लगायतका कलाकारको प्रस्तुति
बुटवल, १४ फागुन । बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा पाँचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला शुक्रबारदेखि शुरु भएको छ । ‘कला, संस्कृति, उद्योग र ब्यापार : समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित आयोजित मेलाको प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले उद्घाटन गर्नुभएको हो । मेलाको दोस्रो दिन आज चर्चित लोक दोहोरी गायिका देवी घर्ती, लोक दोहोरी गायक प्रचण्ड जीसी, संगिता चितौरे, डान्सर प्रिति विश्वकर्मा, गायक भुपराज न्यौपाने लगायतको प्रस्तुति रहने छ । यस्तै बर्दघाट डान्स आइडल, टिकटक प्रतियोगिता पनि हुने छ ।

शुक्रबार मेला उद्घाटन गर्दै सांसद अधिकारीले बर्दघाट उद्योग बाणिज्य संघले ब्यबसायीहरुको पक्षमा मात्र नभएर सामाजीक क्षेत्रमा पनि रचनात्मक काम गर्दै अगाडि बढेको बताउनुभयो । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिका कृषि क्षेत्रमा विस्तारै आत्मनिर्भरको चरणमा रहेको र औद्योगिक क्षेत्रको विकासका लागि उद्योग ग्रामको डिपिआर तयार पारी काम अगाडि बढाई सकिएको बताउनुभयो ।उद्घाटन समारोहमा बोल्दै उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, संघका अध्यक्ष लेखनाथ न्यौपाने, नगर प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमाल, बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा प्रसाद गौतम लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । फागुन २५ गतेसम्म सँचालन हुने मेलामा २ सय बढी स्टल रहेका सँघका महासचिव दिनेश न्यौपानेले जानकारी दिनुभयो ।

कृषिलाई प्राथमिकता दिइएको मेलामा कृषि र महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइएको बर्दघाट उद्योग वाणिज्य सँघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो । औद्योगिक बयापार मेलाले स्थानीय उद्योगी व्यवसायीका उत्पादनको बजारीकरणमा टेवा पुग्ने अध्यक्ष न्यौपानेले बताउनुभयो ।जिल्लाका पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले डकुमेन्ट्री प्रदर्शन एवं कला संस्कृति,परम्पराको संरक्षण समेत गर्ने उद्देश्यले मगर,थारु, नेवार लगायत जातिका परम्परागत घर र खानाका परिकारहरु पनि मेलामा रहेका कृषि,पर्यटन तथा संस्कृति व्यवस्थापन उपसमिति संयोजक गंगाप्रसाद पाठकले बताउनुभयो । मेला अवधिभर दर्शकलाई मनोरन्जन दिलाउन लोक दोहोरी, आधुनिक र हास्य विधाका राष्ट्रिय र स्थानीय गरी ८५ जना भन्दा बढी चर्चित कलाकारहरुको प्रस्तुतिसंगै बर्दघाट डान्स आइडल र टिकटक प्रतियोगिता आकर्षणको रुपमा रहने सांस्कृतिक उपसमिति संयोजक खुमन बस्यालले बताउनुभयो । फागुन २५ गतेसम्म चल्ने ब्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र ३ करोड रुपैयांको कारोबार हुने आयोजकको लक्ष्य छ ।













