बर्दघाट ब्यापार मेलामा आज चन्द्र शर्मा र टिका सानुको धमाका, मेलामै भगवान शिवको दर्शन गर्ने व्यवस्था

प्रकाशित मिति:

बुटवल । पश्चिम नवलपरासीको बर्दघाटमा जारी पांचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको पांचौं दिन आज पनि चर्चित कलाकारहरुको प्रस्तुति हुंदैछ ।महाशिवरात्रीलाई मध्यनजर गरी मेलाभित्रै भगवान शिवको मुर्ति राखिएको र त्यहां दर्शन र पुजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

मेलाको मुख्य आकर्षण रहेको सांस्कृतिक कार्यक्रममा आज मंगलबार चर्चित लोक दोहोरी गायक चन्द्र शर्मा र गायिका टिका सानुको विशेष प्रस्तुति रहने आयोजक बर्दघाट उद्योग वाणिज्य संघले जनाएको छ । यस्तै लोक गायक दीपक खड्का,भाइरल बाल गायिका रबिना बसेल, शिलु भट्टराई र गायिका वर्षा श्रेष्ठको पनि प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक खुमन बस्यालले बताए ।

कला, संस्कृति, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका–४ बर्दघाट मण्डपमा जारी मेलामा आज बर्दघाट डान्स आइडलका प्रतियोगीले नृत्यमार्फत मनोरन्जन दिलाउने छन् भने टिकटक प्रतियोगिता पनि जारी छ । स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहेको मेलामा जिल्लाका पर्यटकीय स्थलहरु प्रचार तथा मगर, थारु, नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरू,विभिन्न थरिका बाल उद्यान, पिङ आदि पनि आकर्षणको रुपमा रहेका छन् । फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।