काठमाडौं, फागुन १८ – गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी सदनबाट अनुमोदन विषयमा केन्द्रित रही छलफल भएको थियो। सो अवसरमा गृहमन्त्री खाँणले एमसीसी कार्यान्वयन गरी अघि बढाउने सन्दर्भमा राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगप्रति आभार व्यक्त गरे। गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन सत्तामा हुँदा मात्र नभई प्रतिपक्षीमा हुँदासमेत दृढ र स्पष्ट विचार राख्दै आएको जानकारी गराएका थिए।
प्रधानमन्त्री देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको हो,ु सो अवसरमा गृहमन्त्री खाँणले भने, सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्न र एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित रहनुभएकाले सफलता प्राप्त भयो। सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ। गृहमन्त्री खाँणले नेपाल र अमेरिकाबीच रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको विषय बताउनुभएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए।
राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी अनुमोदन भएको जनाउँदै प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताए। उनले भने, एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौँ। व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्। शरणार्थीलाई कोभिड-१९ विरुद्धको खोप दिने सरकारको निर्णय प्रशंसनीय भएको बताउँदै नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधैँ साथमा रहने विश्वास व्यक्त गरे।












