रुपन्देहीका नवआगन्तुक प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीलाई स्वागत

प्रकाशित मिति:

उद्योग व्यापार संगठन, रुपन्देहीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका नवआगन्तुक प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीलाई स्वागत गरेको छ । संगठनले भैरहवामा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा एसपी रेग्मीलाई स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै एसपी रेग्मीले नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउने बताएका छन् । उनले यसअघिका प्रहरी प्रमुखको राम्रो कामलाई पछ्याउने बताए । उनले होटल रेष्टुरेण्ट कति बजेसम्म सञ्चालन गर्ने भन्नेबारेमा छलफलमार्फत अगाडि बढ्ने बताए । उनले भने, ‘सुरक्षाको लागि व्यवसायीको पनि योगदान आवश्यक हुन्छ, जस्तै लाईट, सीसीटिभी क्यामेरा लगायतका कुराको व्यवस्थापन ।’ प्रहरीको एक्लो प्रयासले मात्र सफल नहुने भएकाले हातेमालो गरेर अगाडी बढ्नुपर्ने उनले बताए ।विदेशमा पनि अपराध बढ्दो भए पनि त्यहाँ प्रविधिका कारण अपराध गर्ने व्यक्ति छिटो कानूनी दायरामा आउने गरेको उनले बताए । प्रविधिसँगै अगाडी बढाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले करिब ५ हजार उद्योगी व्यवसायी आबद्ध संगठनले निजी क्षेत्रको व्यवसायिक हकहितका लागि आवाज उठाउँदै आएको बताए । उनले संगठनले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । रुपन्देही विकासको दृष्टिकोणले अत्यन्तै तीव्र गतिमा अगाडी बढेको उनको भनाइ थियो ।संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले जिल्लामा लागूऔषधको कारोबार विगतका वर्ष भन्दा क्रमशः न्यूनीकरण हुँदै गएको बताए । उनले जिल्ला प्रहरी कार्यालय र उद्योग व्यापार संगठनबीच अझ सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे ।

संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले एसपी रेग्मीको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । उनले संगठनले जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए । संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले पर्यटन क्षेत्रमा चुनौती रहेको बताए । उनले सम्पूर्ण संघ–संस्थासँग संगठन हातेमालो गर्दै अगाडी बढ्ने बताए ।संगठनका सल्लाहकार उषाकिरण गुरुङले संस्थालाई अगाडी बढाउन सहकार्य गर्दै जाने बताइन् । नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले रुपन्देहीमा सम्भावनासंगै चुनौती पनि रहेको बताए । मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले मदिरा व्यवसायीलाई पनि सम्मानजनक रुपमा हेर्नुपर्नेमा जोड दिए ।उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीको स्वागत, उपाध्यक्ष रामचन्द्र रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।