वालिङ- वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको नगरपालिकाले जनाएको छ ।वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत कृषि औजार बितरण गरिएको हो ।
कृषि औजार बितरण बितरण गर्दै वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जानेछौं । ’
कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन नआई उत्पादन बृद्धि नहुने भन्दै प्रमुख खाँणले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर काम गरिरहेको बताउनु भयो ।कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले कृषकहरुको मागका आधारमा बितरण गरिएका सामाग्रीहरुले उत्पादन बढाउनमा मद्दत गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले आधुनिक प्रबिधिका सामाग्रीहरुको प्रयोगले उत्पादन र उत्पादकत्व बृद्धि हुने बताउनु भयो । उद्यमशीलताको बिकास बिना आर्थिक प्रगती नहुने भन्दै अर्यालले वालिङ नगरपालिकाको उत्पादन बढाउने अभियानमा युएनडिपीको सहकार्य फलदायी रहने बिश्वास व्यक्त गर्नु भयो । उद्यमशीलता, व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिक मार्फत वालिङले शुरु गरेको उद्यमीको शहर बनाउने अभियान निक्कै उदाहरणीय रहेको उहाँले बताउनु भयो ।
कृषक तथा उद्यमीका माग र सहकारी तथा समूहहरुको आवश्यक्ताका आधारमा सामाग्री बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनु भयो । सामाग्रीको सही प्रयोग गरि उत्पादन बढाउन उहाँको सुझाव छ । कार्यक्रममा बिभिन्न ५ वटा सहकारी तथा समूहलाई कुटानीपिसानीका लागि कम्वाईन मिल, ५ वटा व्यवशायीक फर्महरुका लागि पिसानी मिल र चापकटर ५० जना कृषकहरुका लागि टनेल,स्प्रे मेसिन लगायतका सामाग्री बितरण गरिएको परियोजनाले जनाएको छ ।












