बर्दघाट मेलामा आज कन्सर्ट पनि कुलेन्द्र विक, शिव परियार र टिका जैसी मुख्य आकर्षण
सबलपोष्ट-बुटवल/ पश्चिम नवलपरासीको बर्दघाटमा जारी पांचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको दशौं दिन आज सांस्कृतिक कार्यक्रमसंगै रात्रीकालीन कन्सर्ट पनि हुने भएको छ । दिउसोको सांस्कृतिक कार्यक्रममा चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा लगायतका कलाकारको प्रस्तुति हुने छ भने सांझदेखि राति १० बजेसम्म आधुनिक गायक शिव परियार र टिका जैसीले संगीतपारखीलाई झुमाउने छन् ।

दिउसोको सांस्कृतिक कार्यक्रममा नारायण परियार,गायिका मन्जु भट्टराई र हास्य कलाकार उज्ज्वल गिरीको पनि प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक खुमन बस्यालले बताए । यस्तै बर्दघाट डान्स आइडल पनि अर्को आकर्षण रहने छ । ‘कला, संस्कृति, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका–४ बर्दघाट मण्डपमा जारी मेलामा थरिथरिका सेल्फीजोनमा फोटो खिचेर टिकटक बनाउने प्रतियोगिता पनि हुनेछ ।
स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहेको मेलामा जिल्लाका पर्यटकीय स्थलहरु प्रचार तथा मगर, थारु, नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरू,विभिन्न थरिका बाल उद्यान, पिङ आदि पनि आकर्षणको रुपमा रहेका छन् । फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।












