लोक सेवा आयोगहरुको ९ बुंदे घोषणापत्र जारी- प्रक्रिया पूरा नगरी गरिएका बढुवा रद्द हुने

प्रकाशित मिति:

२४ फागुन,बुटवल । संघीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुको रुपन्देहीको मणिग्राममा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले ९ बुंदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले प्रदेश तथा स्थानीयतहहरुले विद्यमान कानूनी व्यवस्था बमोजिम अनिवार्यरुपमा पालना गर्नुपर्ने प्रक्रिया पूरा नगरी गरिएका बढुवा, तह बद्धि,स्तरवृद्धि लगायतका कार्यहरुलाई सम्बन्धित प्रदेश लोकसेवा आयोगहरुले प्रचलित कानून बमोजिम रद्द गर्नेतर्फ कारवाही अगाडि बढाउने निर्णय गरेको छ ।

यस्तै नेपाल सरकारबाट २०७६ वैशाख १६ गते निर्धारण भएको लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरुको मर्यादाक्रम सम्बन्धी व्यवस्था प्रचलित कानूनी व्यवस्था, नियुक्ति र वर्खास्तको प्रक्रिया तथा वहन गर्नुपर्ने जिम्मेवारी समेतलाई दृष्टिगत गरी पुनरावलोकन गर्न नेपाल सरकार समक्ष माग गर्ने निर्णय सम्मेलनले गरेको छ ।प्रदेश लोकसेवा आयोगको परीक्षा दस्तुर र पारिश्रमिक लोकसेवा आयोगबाट स्वीकृत दररेटसँग तादात्म्य हुनेगरी एकरुपता कायम गर्न पहल गर्ने, परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन हरेक आर्थिक वर्षको वार्षिक कार्यतालिका तयार गर्दा प्रदेश लोकसेवा आयोगहरुले यथासम्भव एकैपटकक प्रकाशन गर्ने निर्णय सम्मेलनले गरेको छ ।

यस्तै संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको पदमा कार्यरत स्थायी कर्मचारीलाई उमेरको हद नलाग्ने विषय, कुनै लोकसेवाले कारवाही गरेका उम्मेदवारलाई सबै लोकसेवा आयोगले संचालन गर्ने परीक्षामा आवेदन गर्न नपाउने विषय, अन्तर प्रदेश समान तहको पदमा उम्मेदवार हुन नपाउने विषय, कर्मचारीको वृत्ति विकासका आधार र मापदण्ड आदि विषयमा सम्बन्धित सेवा सम्बन्धी कानून तथा लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोग ऐनमा आवश्यक व्यवस्था मिलाउन पहल गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।
लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबिच आवश्यक सूचना आदान प्रदान गर्न एकीकृत सूचना प्रणाली स्थापना गर्ने,
प्रत्येक वर्ष फागुन २३ र २४ गते लोकसेवा आयोगहरुको राष्ट्रिय सम्मेलनलाई निरन्तरता दिने निर्णय पनि सम्मेलनले गरेको आयोगका प्रवक्ता तोयनाथ सुवेदीले बताए । सम्मेलनमा संघीय लोक सेवा आयोग र ७ वटै प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सहभागिता रहेको सुवेदीले बताए ।