बुटवल,२५ । लुम्बिनी प्रदेशकी श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेँगाले ट्राफिक नियमको पालना भए सवारी दुर्घटना कम हुने बताएकी छन् । प्रदेशको श्रम रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयको आयोजना र प्रदेश ट्राफिक प्रहरी कार्यालयको ब्यवस्थापनमा बुधबार नवलपरासी सुस्ता पश्चिमको सुनवलमा आयोजित सवारी चालक सचेतना अभिबृद्धि कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ढेँगाले ट्राफिक नियमको पालना भए सवारी दुर्घटना कम हुने बताउदै ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिइन् ।
२४ घण्टासम्म पनि एउटै चालकले गाडी चलाउनुपर्ने अवस्थाका कारण पनि सवारी दुर्घटना हुनेगरेको भन्दै उनले लामो दुरीमा गाडी चलाउदा चालक दुई जना चालकको ब्यवस्था गर्नुपर्ने बिचार ब्यक्त गरिन् ।मन्त्रालयका सचिब दीपकराज नेपालले सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले मन्त्रालयले ट्राफिक प्रहरीसँगको समन्वयमा चालक सचेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गरेको बताए ।दुर्घटना न्युनिकरणलाई बार्षिक कार्ययोजनामै समावेश गरेर मन्त्रालयले अभियानकै रुपमा सञ्चालन गर्न लागेको बताउदै उनले मन्त्रालयले यातायात नियमावली र श्रम ऐन तर्जुमा गरिरहेको जानकारी गराए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख,ट्राफिक प्रहरी नायव निरीक्षक डम्बर गिरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेम शाही,यातायात ब्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख लक्ष्मण लम्साल लगायतले सवारी दुर्घटना न्युनिकरणमा चालकको भूमिका महत्वपूर्ण हुने भन्दै ट्राफिक नियमको पालनामा जोड दिएका थिए । पश्चिम नवलपरासीका ४२ जना सवारी चालकहरुको सहभागिता रहेको कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय,बुटवलका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँण र प्रहरी नायब निरीक्षक हुमानन्द खनालले प्रशिक्षण दिएका थिए ।












