तिलोत्तमालाई दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार

प्रकाशित मिति:

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ । मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले सो पुरस्कार प्रदान गरेको हो । आर्थिक वर्ष २०७७÷०७८ मा सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले त्यसको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।

तिलोत्तमाले गत वर्ष शहरी सेवा प्रवाह तथा सुशासन विधामा पुरस्कार प्राप्त गरेको थियो । संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुरस्कार प्रदान गरेको छ । तिलोत्तमासँगै अन्य विधामा निलकण्ठ, वालिङ, हरिवन, पुतलिबजार, ईलाम र राप्ति नगरपालिका पनि पुरस्कृत भएका छन् । संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई उत्कृष्ट नगरपालिका पुरस्कार—२०७८ स्वरुप कदर पत्र प्रदान गर्नुभयो । सो अवसरमा तिलोत्तमा नगर प्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताउनुभयो ।उहाँले सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक काम गर्न सकेको भन्दै आगामी दिनमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको बताउनुभयो ।