एमाले एक्लैले बहुमत ल्याउँने अध्यक्ष ओलीको दाबी

प्रकाशित मिति:

काठमाडौँ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने बताएका छन् ।मंगलबार काठमाडौँमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्वाचनमा कसैको साहारा आवश्यक नपर्ने र एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित हासिल गर्ने बताएका हुन् ।त्यस्तै ओलीले कम्युनिष्ट नाम राख्दैमा वास्तविक कम्युनिष्ट हुन नसक्ने भन्दै वास्तविक कम्युनिष्ट हुन बिचारमा स्पष्ट हुनुपर्ने जिकिर गरे।

ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केहि स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको ओलीको भनाइ छ । एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको धारणा राखे ।उनले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको भन्दै यसका परिवर्तन अपरिहार्य रहेको बताए । उनले हाल उपाध्यक्ष र उप मेयरको भूमिका रहेका महिलालाई अध्यक्ष वा मेयर बनाउन आफु सकारात्मक रहेको तर यस विषयमा अस्वस्थ अभियान नचलाउन सुझाव पनि दिए।ओलीले महिलाको समान अधिकार र सहभागिताको विषयलाई एमालेले नै अघि बढाएको दाबी गरे । सबै तहमा महिलाको ३३ प्रतिशतको अवधारणा पनि महिला संघले नै ल्याएको उनको भनाइ छ ।

थप समाचार