बुटवल ।सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) ले पूर्व अध्यक्ष मोहन चापागाईलाई सम्मान गरेको छ । सामुदायिक रेडियो प्रसारक संघको अभियानमा नेतृत्वदायी भूमिका खेलेको तथा सामुदायिक रेडियोहरुको हक, हित र अधिकार सुनिश्चित गर्दै नागरिकको सूचना पाउने अधिकार स्थापित गर्न सहज बनाउने गरी महत्वपूर्ण भूमिका खेलेको भन्दै पुर्व अध्यक्ष चापागाईंलाई अकोरावले सम्मान गरेको हो
नेपालगन्जमा आयोजित अकोरावको राष्ट्रिय सम्मेलनमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले उनलाई सम्मान गरेका हुन् । सम्मानित भएपछि बोल्दै अकोरावका पुर्व अध्यक्ष चापागाईंले सामूदायिक रेडियोले अवसरबाट बञ्चित भएका वर्गका नागरिकहरूको समस्या उठान गर्दै आएको बताए ।अकोराबका अध्यक्ष अर्जुन गिरीले राज्यले नीतिगत व्यवस्था गरी सामुदायिक रेडियोको वृत्ति विकासमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
विद्युत महसुलमा छुट दिएर थोरै भए पनि साुमदायिक रेडियोलाई सहयोग पुगेको र कोरोना महामारीको समयमा नविकरण शुल्कमा सहुलियत दिएर सरकारले सामुदायिक रेडियोलाई राहत दिएको बताए ।नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले रेडियो स्थापनापछि लोकतन्त्रको जग मजबुत बन्दै गएको र सामाजिक चेतनामा असाधारण परिवर्तन आएकोले रेडियोको योगदान महत्वपूणर् रहेको स्मरण गरे ।प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले रेडियो र छापा माध्यममा लोककल्याणकारी विज्ञापनमा रहेको विभेद अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराए । प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रेस जगत स्वतन्त्र नहुँदासम्म मुलुकको समृद्धि परिकल्पना गर्न नसकिने दावी गरे ।कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सामुदायिक रेडियोको हकहितका लागि अवश्यक नीतिगत व्यवस्था लागु गर्न सरकार प्रतिबद्ध रहेको बताए ।












