बुटवल, १० चैत । बुटवल सुख्खानगर धर्मपथमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थी तथा विद्या आश्रमका बटुक विद्यार्थीलाई सहयोग स्वरुप आर्थिक सहयोग गरेको छ । ईन्द्रेणीले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा बिहीबार मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने दृष्टिबिहीन विद्यार्थी र बुटवल दिपनगरमा रहेको सन्तोषिमाता गुरुकुल विद्या आश्रमका बटुक विद्यार्थीलाई बिहीबार दुबै स्थानमा कार्यक्रम गरि आर्थिक सहयोग प्रदान गरेको हो ।
ईन्द्रेणीले दृष्टिविहीन विद्यार्थीको अध्ययनमा सघाउ पुर्याउन शान्ति नमुना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई १५ हजार रुपैयाको चेक र बटुक विद्यार्थीको अध्ययनमा सहयोगका लागि सन्तोषिमाता गुरुकुल विद्या आश्रम नलिकण्ठ बाबाधामका उपाध्यक्ष चुरामणी पौडेललाई १० हजार रुपैयाको चेक प्रदान गरेको हो । सहकारीका अध्यक्ष धुर्वकुमार धितालले उक्त चेक शान्ति नमुनाका प्रअ लामिछाने र विद्या आश्रमका उपाध्यक्ष पौडेललाई प्रदान गर्नु भएको हो ।
ईन्द्रेणीका उपाध्यक्ष कृष्णप्रसाद अर्यालको स्वागतमा भएको कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष मित्रबहादुर शाक्य, सदस्य प्रकाश मुडभरी, सिता कार्की, शान्तिलाल बज्राचार्य, ब्यवस्थापक बाबुराम अर्याललगायतले सहकारीले स्थापना दिवसमा सामाजिक कार्यहरु गर्दै आएको बताउनुभयो । स्थापना दिवसकै अवसरमा सहकारी प्रशिक्षण कार्यक्रम शुक्रबार हुने र शनिबार विहान ८ बजेदेखि खुल्ला वृहद रक्तदान कार्यक्रमको आयोजना गरिएको सचिव माया गौतमले जानकारी दिनुभयो । संस्थाले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गर्नुका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम गर्दै आएको गौतमले बताउनुभयो ।












