पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त सम्मान

प्रकाशित मिति:

काठमाडौँ– स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा–अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ ।सहयात्रा नामक संस्थाले आज कार्यक्रम गरी अधिकारकर्मी स्वर्गीय रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।पुरस्कारको राशि ५१ हजार रहेको छ ।

टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत माघ ६ गते ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई पुरस्कार हस्तान्तरण गर्दै परिवारलाई राहत तथा सहयोगका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घरसङ्गठनले विश्वकर्माको उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने मागसमेत गर्दै आएका छन् ।श्रमजीवी–पत्रकार सङ्घ नेपालले घटनाका दोषीउपर छानबिनसहित कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ ।२६ वर्षीय स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गरेका थिए ।