शैक्षिक गुणस्तर उकास्ने नमुना अवधारणा : सिंगो बुटवल एक विद्यालय

प्रकाशित मिति:

दलबहादुर गुरुङ- बुटवल । लुुम्बिनी प्रदेशको मुकाम बुटवल, हरेक दृष्टिकोणले देशको मुटु हो । विकासको पर्यावाची हो । सुन्दरताको प्रतिविम्व हो । अंगे्रज शासकलाई परास्त गरी बिजय हासिल गरेको जितगढीमार्फत वीरताको गाथा सुनाउने बुटवल, मानव विकासको क्रमसँगै रामपिथेकसको विचरण भूमि हो ।

तिनाउ नदीको समीपमा रहेको बुटवल, तराई, पहाडको संगम हो । नून खेप्न आउनेहरुको पुरानो बटौली, इतिहासको बिरासत हो भने भविष्यको विराट सहर हो । बुटवलको उत्तरतिर पाल्पाको तिनाउ गाउँपालिका, दक्षिणतिर तिलोत्तमा नगरपालिका एवम् शुद्धोदन गाउँपालिका, पूर्वमा देवदह नगरपालिका र पश्चिममा सैनामैना नगरपालिका रहेको छ ।कूल एक सय एक वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको बुटवलको जनसंख्या २०६८ सालको जनगणना अनुसार एक लाख, अड्तीस हजार, सात सय ४२ रहेको छ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरले बुटवलमा बसाइँ सरेर आउनेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । कृषि, व्यापार, पर्यटन, पशुपालन र औद्योगिक विकासले पड्को मार्दै गएको बुटवल देशकै नमूना उपमहानगरपालिका हो ।

२०७४ सालको स्थानीय निर्वाचन पश्चात बुटवल उपमहानगरपालिकाले विकासको रोडमोडेलका रुपमा आफूलाई उभ्याएको छ । नगर विकासका आधार भौतिक विकासमात्र होइन, सामाजिक, नैतिक, सांस्कृतिक, पुरातात्विक, साहित्य, कला, सभ्यताका साथै पर्यटन प्रवद्र्धनका लागि बुटवल उपमहानगरपालिकाले समग्र विकासमा आफ्नो सामथ्र्य प्रदर्शन गर्दै आइरहेको छ । सवल आर्थिक केन्द्र, समुन्नत बुटवलको परिकल्पनालाई पूरा गर्ने अभियानको अभियन्ता नै बुटवल उपमहानगरपालिका हो ।‘समृद्ध बुटवल, खुसी बुटवलबासी’को आकाङ्क्षालाई पूरा गर्न आवधिक योजना, पञ्चवर्षीय योजना, रणनीतिक योजना तथा १५ वर्षे गुरुयोजना, नगर शिक्षा योजना र बृहत बुटवलको लक्ष्य लिएर अघि बढिरहेको बुटवल उपमहानगरपालिका, अन्तर्राष्ट्रिय संस्था जीआइजेडको सर्वेक्षण र मूल्यांकनका आधारमा लगानीमैत्री वातावरण निर्माण गर्नेमा देशकै उत्कृष्ट एवम् अब्बल नगरका रुपमा पुरस्कृत भएको छ ।

आधारभूत तहसम्मका विद्यार्थीका लागि आफ्नै स्थानीय पाठ्यक्रम बनाएर पढाउन थालिएको छ । ‘सिंगो बुटवल : एक विद्यालय’को मुलुककै नौलो अवधारणाको चरणबद्ध कार्यान्वयन हुँदैछ । शैक्षिक गुणस्तरको विकास गर्दै नगर शिक्षा योजना अनुसारका क्रियाकलापमार्फत बुटवलले शैक्षिक उन्नयनमा फड्को मार्दैछ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर मापनमा मुलुकमै उत्कृष्ट नतिजा प्राप्त भएको छ । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि चालिएका योजनाबद्ध कदमहरुको प्रतिफलका रुपमा यसलाई पनि लिन सकिन्छ । बुटवल उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयहरुका नयाँ भवन बनाउने, भएका भवनको मर्मत सम्भार गर्ने, नयाँ छानो हाल्ने, ट्रष्ट जडान गर्ने, अपांगमैत्री सहितका शौचालय निर्माण गर्ने, सूचना प्रविधि कक्षासहितका विशेष पुस्तकालय र बुक कर्नर निर्माण गर्ने, खानेपानीको प्रवन्ध मिलाउने, विज्ञान प्रयोगशाला निर्माणमा विशेष पहल भएका छन् । बुटवलका सामुदायिक विद्यालयहरु देशकै नमूना विद्यालयमा पुरस्कृत भएपछि यहाँका सरोकारवालाहरुमा उत्साहसमेत छाएको छ ।

बीटीआईमै प्राविधिक विषयमा उच्च तहका कक्षा सुरु हुने भएका छन् । यसका लागि बुटवल उपमहानगर र काठमाडौं विश्वविद्यालयसँग सम्झौता भइसकेको छ । अब बीटीआईमा प्राविधिक एवम् उच्चशिक्षाको पठनपाठन सुरु हुँदैछ । लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय बनाइँदैछ । विपन्न र जेहेन्दारलाई छात्रवृत्ति, शैक्षिक अवसरका लागि अनेकौं प्रोत्साहनका कार्यक्रमहरु तय गरेर बढेको यो उपमहानगरपालिकाले बुटवललाई देशकै शैक्षिक हबको रुपमा विकास गर्दैछ । बुटवलमा ग्रामीण सहरहरु पनि छन् । जहाँ कृषि नै पहिलो आधार बनेको छ । सहरी कृषि प्रवद्र्धनका लागि भएका कामले बुटवललाई मुलुकमा अब्बल बनाएको छ । किसानलाई प्रोत्साहन, हौसला र सहकार्यले कृषिलाई आधुनिकीकरण बनाउन र व्यवसायिक बनाउन मद्दत मिलेको छ । आधुनिक एवम् प्रविधिमैत्री खेतीप्रणालीलाई उपमहानगरले जोड दिएको छ । कृषिबाट आर्थिक क्रान्ति गर्न सकिन्छ भनेरै समय सापेक्ष कृषि प्रणालीमा किसानहरुलाई नगरसँग जोडिएको छ । निर्वाहमुखी होइन निर्यातमुखी खेती प्रणालीलाई प्राथमिकता दिइएको छ । अर्गानिक खेतीमा ध्यान दिइएको छ । मौसमी पात्रोलाई अपनाउँदै माटो र हावापानी सुहाउँदो खेतीमा नगरले जोड दिएको छ । किसानलाई प्राविधिक सल्लाह,सहयोग गर्दै आधुनिक प्रविधि, उन्नत बीउविजन र सिंचाईमा लगानी बढाएको छ । उत्पादन गरेका फसललाई धितो राखेर अनुदान दिएको छ । व्यवसायिक खेतीका लागि कृषि औजार तथा उपकरणको प्रवन्ध गरेको छ । हरित् गृह निर्माण, भाडामा जग्गा लिइ कृषि गरेका किसानहरुलाई जग्गा भाडामा अनुदानमा दिने गरेको छ । नगरले कृषि सडकमा लगानी बढाएको छ । नगरले पशुपंक्षीपालनलाई आम्दानीसँग जोडेको छ ।
सक्षम एवम् दक्ष जनप्रतिनिधिहरु, कर्मशील कर्मचारीहरु र विकासमा हातेमालो एवम् समन्वय गर्न रुचाउने नगरबासीहरुको सहसम्बन्ध, सहकार्य र सहयात्रा अनि स्थानीय, प्रादेशिक एवम् संघीय साधन, स्रोतको अधिकतम प्रयोग र परिचालनले नै आजको बुटवल अर्थात् उज्यालो बुटवल बन्न सम्भव भएको हो ।