गोविन्द बन्दी बने कानुनमन्त्री

प्रकाशित मिति:

काठमाडौं, चैत २४ – कानुनविद गोविन्द बन्दी गोविन्दप्रसाद शर्मा कोइराला कानुनमन्त्री बनेका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबार उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका लागि सिफारिस गरेका हुन्।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसअनुसार उनलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्रीकै सिफारिसअनुसार राष्ट्रपति भण्डारीले अहिले कानुनमन्त्री रहेका दिलेन्द्र बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति गरेकी छन्। उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका थिए।अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार कानुनका ज्ञाता बन्दी गैरसांसद हुन्।संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैरसांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ। तर गैरसांसद मन्त्री बने ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्ने व्यवस्था संविधानमा छ।कानुनमन्त्री हुन थालेका बन्दी नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्षसमेत हुन्। उनले संसदबाट एमसिसी पास गर्न व्याख्यात्मक टिप्पणीका लागि शीर्ष नेतृत्वमा सहजीकरण गरेका थिए।