चुनावी घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी, सामाजिक सञ्जालबाट पनि सुझाव दिन सकिने
काठमाडौं, चैत २४ – सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय तहका लागि वैशाख ११ गते लोकतन्त्र दिवसका दिन चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । महामन्त्री एवं घोषणापत्र निर्माण समितिका संयोजक गगन थापाको नेतृत्वमा आज पहिलोपटक बसेको बैठकले आगामी वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी काम अगाडी वढाएको समिति सदस्य समेत रहेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले काठमाडौं प्रेसलाई बताए ।
बैठकले आम नागरिक र पार्टीका विभिन्न तहका कार्यकर्ताहरुबाट सुझाव समेटेर घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको उनले बताए । घोषणापत्रमा समेट्नुपर्ने विषयबारे सर्वसाधारण जनताबाट सुझाव आह्वान गरिने र टोल फ्री नम्बर सार्वजनिक गर्ने र सामाजिक सञ्जालबाट पनि सुझाव पठाउन मिल्ने व्यवस्था समेत गरिने छ । यसका लागि अबको केहि दिनमै जानकारी गराईने समेत शिवाकोटीले जानकारी दिए । कृषि, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रका विषयहरु घोषणापत्रमा समेट्ने कांग्रेसको तयारी छ ।












