काठमाडौं, चैत २५ – गृहमन्त्री बालकृष्ण खाँडले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताएका छन् । म्याग्दी सदरमुकाम बेनीमा आज नेपाल छन्त्याल सङ्घको साँतौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले तराईदेखि हिमालसम्मको सिमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाका रूपमा भूमिका खेलेको बताएका हुन् । “हामीले तराईदेखि हिमालको फेदीसम्म हेर्यौँ भने आदिवासी जनजातिको बसोबास रहेको देख्छौँ, त्यहाँ उहाँहरु बसोबास मात्रै गर्नुभएको छैन, नेपालको भूमिको रक्षा गर्न पनि भूमिका खेल्नुभएको छ, उहाँहरुप्रति सरकार धन्यवाद ज्ञापन गर्न चाहन्छ”, उनले भने ।
नेपालको दुर्गम र विशिष्ट भूभागमा उल्लेख्य बसोबास रहेको छन्त्याल समुदायको अधिकारको रक्षा र कला संस्कृतिको संरक्षणमा सरकार प्रतिबद्ध रहेको उनले बताए ।छन्त्याल समुदायको पुख्यौली पेसा खानी उत्खनन् रहेको उल्लेख गर्दै उहाँले खानी उत्खनन गर्दा स्थानीयवासीको मर्म र भावना बुझेर मात्रै अघि बढ्नु उचित हुने धारणा राखे । “खानीले तत्कालीन समयमा नेपालको आवश्यकता परिपूर्तिमा महत्वपूर्ण योगदान दिएको थियो, अब उत्खननको क्रममा पनि आदिवासी जनजातिहरुसँगको सहकार्यलाई जोड दिनुपर्छ, स्थानीयवासीको भावना र चाहना समेटिनुपर्छ, स्थानीयवासीको उचित व्यवस्थापन गरेर मात्रै खानी उत्खनन हुन्छ”, गृहमन्त्री खाँणले भने ।
नेपाल भूगोलका रूपमा सानो रहे पनि संस्कृति, धर्म, भाषा, भूगोल र जातीय विविधता रहेको उल्लेख गर्दै विविधताको संयोजनले नै राष्ट्रियताको संवद्र्धन गर्ने धारणा राखे । बेनीमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकीसहित बजार परिक्रममा गरिएको छ । छन्त्याल समुदायको मौलिक वेषभूषा, कला संस्कृतिलाई ¥यालीसहित प्रदर्शन गरिएको हो । महाधिवेशनबाट आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन हुनेछ । उद्घाटन कार्यक्रममा भाग लिन आएका छन्त्याल समुदायका सयाँैको सङ्ख्यामा बेनीमा झाँकी प्रदर्शन गरिएको हो ।












