धनगढी, चैत २६ – सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिशमा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावल तथा कांग्रेसकै गोविन्दराज बोहरालाई सामाजिक विकास मन्त्री नियुक्त गरेका छन्। त्यस्तै, नेकपा ९एकीकृत समाजवादी० का सांसद प्रकाशबहादुर रावललाई आर्थिक मामिलामन्त्रीमा नियुक्त गरेका छन्।
कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ। एकीकृत समाजवादीका कुलवीर चौधरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा र अमरबहादुर साउद अर्थ राज्यमन्त्री नियुक्त भएका छन्।एकीकृत समाजवादीले आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारालामा तामाङलाई फिर्ता बोलाएको छ।यसैगरी भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, अर्थ राज्यमन्त्री माया तामाङ बोहरा र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि फिर्ता बोलाएको छ। प्रदेश प्रमुख जोशीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शुक्रबार साँझ नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताका सपथ गराएका छन्।












