ट्रम्पलाई लाग्यो झट्का, रक्षा मन्त्रीद्वारा राजीनामा !

प्रकाशित मिति:

एजेन्सी – अमेरिकी रक्षामन्त्री जिम म्याटिसले अकस्मात पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा पत्र बुझाएका हुन् । म्याटिस सिरियामा तैनाथ करिब २ हजार सैनिकलाई फर्काउन नहुने पक्षमा थिए । तर, ट्रम्पले त्यहाँ आईएस परास्त भएको भन्दै सैनिक फिर्ता थाल्ने घोषणा गरेका थिए । लगत्तै ट्रम्पसँग रुष्ट बनेका म्याटिसले पदबाट राजीनामा दिएका हुन् । म्याटिसले बुझाएको राजीनामा पत्रमा विचार मिल्ने क्षमतावान व्यक्तिलाई रक्षा मन्त्री बनाउने अधिकार राष्ट्रपतिसँग रहेको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

उनले पत्रमा मित्र शक्तिहरुसँग सम्मानपूर्वक व्यवहार गर्ने बताएका छन् । साझा रक्षाका लागि अमेरिकी क्षमताको सम्पूर्ण संशोधन प्रयोग गर्ने वचन पनि उनले दिएका छन् । ट्रम्पले बिहीबार म्याटिसले राजीनामा दिएको सार्वजनिक गर्दै फेब्रुअरीको अन्त्यबाट त्यो लागू हुने बताएका छन् । ट्रम्पले सम्मानका साथ जिम्मेवारीबाट अवकास हुन लागेको भन्दै ट्वीटरमार्फत् उनलाई धन्यवादसमेत दिएका छन् । ‘मित्र शक्ति र अन्य देशहरुको सैन्य दायित्व निर्वाह गर्न गरेको सहयोगप्रति म धन्यवाद दिन चाहन्छु’, ट्रम्पले ट्वीट गरेका छन् । म्याटिसले ट्रम्पले प्रशासन सुरु भएदेखि नै रक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनलाई ट्रम्प मन्त्रिपरिषद्को स्थिर तथा स्वतन्त्र सदस्यका रुपमा लिने गरिन्थ्यो । स्वयं ट्रम्पले समेत एक टेलिभिजन वार्तामा उनी डेमोक्र्याटजस्तो देखिएको भन्दै बिदा दिन सकिने बताएका थिए । ट्रम्प प्रशासनबाट एकपछि अर्का जिम्मेवार व्यक्ति बाहिरिने सिलसिला चलिरहेका बेला म्याटिस पछिल्लो पात्र बनेका छन् । रक्षा मन्त्रीको यो राजीनामालाई ट्रम्पमाथिको अर्को झड्काका रुपमा विश्लेषण गरिएको छ ।