गभर्नरमाथि नाङ्गो हस्तक्षेप भयो, तत्काल सच्याइयोस् : पूर्वअर्थमन्त्री पौडेल

प्रकाशित मिति:

काठमाडौं, चैत २७ – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले राष्ट्र बैंकका गभर्नरमाथि नाङ्गो हस्तक्षेप गरेको आरोप लगाएका छन्। मुलुकको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पौडेलले सरकारका अवाञ्छित आकांक्षालाई पूरा गर्नका निमित्त गभर्नर महाप्रसाद अधिकारी सहयोगी नबनेकै कारण सरकारले उनलाई हटाएको आरोप लगाएका छन्।

पौडेलले सरकारका यस किसिमका हस्तक्षेपले नेपालको अर्थतन्त्रलाई थप धराशायी पार्ने प्रष्ट पारेका छन्। गभर्नर अधिकारीले वित्त क्षेत्रमा सरकारका गलत हस्तक्षेपलाई अस्वीकार गरेकै कारण पदमुक्त हुनपरेको पौडेलले बताए।उनले मुलुकलाई थप आर्थिक संकटको दिशामा जानबाट रोक्न सरकारले तत्काल गभर्नर हटाउने निर्णय सच्याउनुपर्ने बताए । ‘सरकारले यो निर्णय अविलम्व सच्याओस् अन्यथा यसले मुलुकको अर्थतन्त्रलाई अरु धराशायी बनाउने निश्चित छ,’ उनले भने। उनले गभर्ननरमाथि गरिएको हस्तक्षेप महाप्रसाद अधिकारीमाथि नभई प्रणाली स्थापित गर्ने संस्थाको प्रमुखमाथि गरिएको हस्तक्षेप रहेको जिकिर गरे।