कास्की, चैत २९ – पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापासहित १२ जनाले आकांक्षा राखेका छन्। उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन्।मंगलबार एमालेको महानगरपालिका कमिटीले मेयर र उपमेयरको आकांक्षीहरुको नाम संकलन गरेको थियो। जसमा मेयरको आकांक्षीहरुमा प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा। डा। विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मिनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा रहेका छन्।
मेयर पदका आकांक्षीहरुले तीन हजार रुपैयाँ तिरेर मनोनयन दर्ता गराएका छन्। मेयरका लागि दुई पुरुष र एक महिलाको नाम पार्टी केन्द्रीय कमिटीमा सिफारिस हुनेछ।उपप्रमुखका लागि भने ११ जनाले दावी गरेका छन्। जसमा शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री रहेका छन्। आकांक्षीहरुबीच सहमतिको प्रयास गर्ने र सहमति नभए मतदानबाट ३ जनाको नाम छनोट गरी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने महानगरपालिका कमिटीका सचिवालय सदस्य चेतन कार्कीले जानकारी दिए।












