दोस्रो चरणको अभियानमा काँग्रेस- झुट्टा सपना काँग्रेसले बाड्दैन : युवा नेता पौडेल

प्रकाशित मिति:

स्याङ्जा-नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले टोल देखि जिल्लातह सम्म चलाएको एक महिने घर—घर जाऔं, काँग्रेस जिताऔं अभियान सम्पन्न गरेको छ । एक महिना सम्म यो अभियान सगै टोल देखि पालिकास्तर सम्म पुगेको नेपाली काँग्रेस स्याङ्जाले समिक्षा सहित पत्रकार सम्मेलन गरेर दोस्रो चरणको अभियानमा प्रवेश गरेको जनाएको छ । नेपालकै पहिलो पर्यटकीय गाँउ शिरुवारीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले कम्युनिष्टहरु ले झै काँग्रेसले झुट्टा सपना नबाड्ने बताए । गएको आम निर्वाचनमा कम्युनिष्टहरुले झुट्टा सपना बाडेकै कारण दुईतिहाई मतको सदुपयोग गर्न नसकेको आरोप नेता पौडेलले लगाए । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा नागरिकलाई नसक्ने विकासे योजनाका सपना नबाड्न कार्यकर्तालाई निर्देशन गर्दै युवा नेता पौडेलले सम्भाव्यताको अध्ययन गरी आर्थिक एजेण्डा प्रस्तुत् गर्न आग्रह गरे ।

एक महिने अभियानमा स्याङ्जा बसेका केन्द्रीय सदस्य पौडेलले स्याङ्जा काँग्रेसको साख पुरानै अवस्थामा फर्कने विश्वास व्यक्त गरे । निर्वाचनमा समय अनुकुल गठबन्धन गर्नुपर्ने आवश्यकता देखिएकाले स्याङ्जामा गठबन्धन गरेर जानुपर्ने वा नजाने निर्णय जिल्ला काँग्रेसकै हातमा रहेको बताए । अंकगणीतीय हिसावमा नेपालका कम्युनिष्टलाई काँग्रेसले जित्न नसकेपनि विचारमा काँग्रेस बिजयी भएको पौडेलले दावी गरे । काँग्रेसले उठाउदै आएको बिचारमा नेपालका कम्युनिष्टहरु समाहित हुदै संसदीय व्यवस्थामा आएकोले काँग्रेसले जितेको उनले बताए ।

बैशाख ३० मा हुन लागेको स्थानीय चुनावका लागि स्याङ्जामा गठबन्धन आवश्यक भएको नेपाली काग्रेस स्याङ्जाका जिल्ला सभापति राजुु थापाले बताए । सभापति थापाले स्थानीय चुनावका लागि सरकार संचालन दलहरुसंग गठबन्धन हुने तर काँग्रेसले आफ्नो मतको सदुपयोग गर्दै भागबण्डा हुन सक्ने बताए । गठबन्धनका बिषयमा वडातह देखि पालिकाको सुझाब आएपछि मात्रै तालमेलको टुङ्गो लगाउने सभापति थापाले बताए । जिल्लाका ९७ वडामा टोलविकास समिति गठन, वडातह देखि पालिकाको घोषणपत्रको तयारी र उमेदवारी सिफारीसका कामहरु सकिएको जानकारी सभापति थापाले दिए । पार्टीबाट चुनाबमा जाने उमेदवारको भने काँग्रेसको विद्यान अनुसार टुङग्याइने थापाले बताए । अबको निर्वाचनमा शिक्षा, स्वास्थ्य, कृषि र आवश्यक अनुसार सडक हुदै रोजगारका बिषयहरुलाई मुख्य एजेण्डा प्रस्तुत् गरी जनताको घरदैलोमा जाने उनले बताए ।दोस्रो चरणको कार्यक्रम चुनावी रणनीतिक अनुसार छिट्टै संचालन हुने नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्सालले जानकारी दिए । अब बस्ने जिल्ला कार्य समितिको बैठकले दोस्रो चरणको कार्यक्रम तयगर्ने लम्सालले बताए ।