वडाध्यक्ष उम्मेदवारको मृत्यु भएपछि बुद्धभूमि नगरपालिकाको निर्वाचन कार्यक्रम स्थगित
कपिलवस्तु/कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका वडाध्यक्ष उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ।
शुक्रबार राति ११ बजे वडा नम्बर ८ का वडाध्यक्ष उम्मेदवार ४१ वर्षीय ओमप्रकाश तिवारीको मृत्यु हुँदा निर्वाचन कार्यक्रम स्थगित भएको नगरपालिकाका निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दिए।उनी नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार हुन्।
‘गएराति उहाँको हार्ट अट्याकबाट मृत्यु भयो। त्यसको जानकारी निर्वाचन आयोगलाई दिइसकेका छौं,’ उनले भने, ‘आयोगले सम्बन्धित वडाको सम्बन्धित पदको र त्यही पार्टीको मात्रै नयाँ उम्मेदवार खडा गर्छ। त्यसपछि आयोगले दिने नयाँ कार्यक्रम तालिका अनुसार हामी काम सुरू गर्छौं।’
आयोगले शनिबार सबै दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका छ।त्यो कार्यक्रम बुद्धभूमि नगरपालिकामा रोकिएको तर वैशाख ३० गते हुने चुनाव भने नरोकिने निर्वाचन अधिकृत पाण्डेले बताए।‘अहिले स्थगित भए पनि त्यसले ३० गते हुने चुनावलाई असर गर्दैन। तर आज निर्वाचन चिन्ह दिनुपर्ने काम चाहिँ नगरभरि नै स्थगित भएको छ,’ उनले भने, ‘नगरको कार्यक्रम तालिका मात्रै तलमाथि हुने मात्र हो।’












