स्याङ्जा – स्याङ्जामा ३ जना महिलाले प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। आसन्न स्थानीय तह निर्वाचनका लागि तीनैजना पुरुषसँगै प्रतिस्पर्धामा उत्रिएका हुन्। एघार पालिकामध्ये एक नगरपालिका र २ गाउँपालिकामा महिला प्रमुख पदमा चुनाव लड्ने भएका हुन्।
यहाँको पुतलीबजार नगरपालिकामा सीमा क्षत्री, कालीगण्डकी गाउँपालिकामा माया राना र अर्जुनचौपारी गाउँपालिकामा चिनुमाया गुरुङ् चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यसअघि पनि पुतलीबजार नगरप्रमुखमा क्षत्री र अर्जुनचौपारी गाउँ उपाध्यक्षमा गुरुङ थिइन्। उनीहरु दुबैलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो।
महाधिवेशन प्रतिनिधि रानालाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो। विद्यालय तहदेखि राजनीतिमा क्रियाशिल राना यसअघि कुनै पनि पदमा उम्मेदवार थिइनन्। जिल्लाका ५ नगरसहित ११ पालिकामा गरी २ लाख ४० हजार ५३५ मतदाता छन्। तीमध्ये एक अन्यसहित १ लाख १६ हजार ६६६ पुरुष र १ लाख २३ हजार ८६८ महिला मतदाताा रहेको निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासीनीले जानकारी दिए।












