बुटवलमा इजाजत दिँदा पक्षपात भएको भन्दै इरिक्सा व्यवसायी आक्रोशित

प्रकाशित मिति:

बुटवल । इरिक्सा व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाभित्र सञ्चालनका लागि इजाजत दिँदा पक्षपातपूर्ण व्यवहार भएको भन्दै असन्तुष्टि जनाएका छन् । बुटवल उपमहानगरपालिकाले पार्टीनिकट इरिक्सा व्यवसायीलाई मात्रै इरिक्सा सञ्चालनको अनुमति दिएपछि इरिक्सा चालक तथा व्यवसायी आक्रोशित भएका हुन् ।बुटवल उपमहानगरपालिकाले रिक्सा सञ्चालनका लागि इजाजत दिनका लागि एमाले निकट जिफन्ट र एमालेको सदस्यता लिन दबाब दिएको भन्दै इरिक्सा व्यवसायी आक्रोशित बनेका छन् ।बुटवल उपमहानगरपालिकाले १ हजार १८ इरिक्सालाई ब्लुबुक र इजाजत दिने भनेपनि बुटवलमा २ हजारभन्दा बढी इरिक्सा सञ्चालनमा रहेका छन् ।

१ हजार १८ इरिक्सामध्ये सबैजसो एमालेनिकटलाई दिइएको भन्दै इरिक्सा व्यवसायी आक्रोशित बन्दै आएका छन् ।उपमहानगरपालिकाले विभेदपूर्ण व्यवहार गरेकाले यो समस्या समाधानका लागि आन्दोलनरत रहेको इरिक्सा व्यवसायी तथा चालक लालमणि भण्डारीले बताए ।
उनले उपमहानगरपालिकाले विभेदपूर्ण नीति ल्याएको र जनप्रतिनिधिले पार्टीको सदस्यता लिएमात्रै इजाजत पाउने भन्ने खालका सर्त राखेकोमा आपत्ति जनाए ।‘कहिले हामीलाई रिक्सा चलाउन छाडेर सिद्धबाबा पहिरो खन्न जानुस्, कहिले कता जानुस्, यता नचलाउनुस् भनेर हेपाहा व्यवहार गरे, उनले भने–यसपटक यस्ता विभेद गर्ने जनप्रतिनिधि र तीनको पार्टीलाई हराउनुपर्छ, चुनाबमा त्यसको बदला लिनुपर्छ ।’
बुटवल उपमहानगरले विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ नै बनाएर काम अगाडि बढाएको थियो । उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरेर व्यवस्थापनका काम अगाडि बढाइएको भएपनि विभेदपूर्ण नीति भएको चालक तथा व्यवसायीको भनाई छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको दर्ता, अनुमतिका काम अगाडि बढाइएको थियो ।