संविधान र व्यवस्थाका पक्षधरहरु गठबन्धनको पक्षमा

प्रकाशित मिति:

बुद्धिजीवीहरुले संविधान, संघीयता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर पांच दलिय गठबन्धनका उम्मेद्वारहरुलाई जिताउने प्रतिवद्धता व्यक्त गरेका छन् । बुद्धिजीवी समन्वय समितिले आईतबार बुटवलमा आयोजना गरेको बुद्धजीवी भेलामा संविधान र व्यवस्था रक्षाको लागि बुद्धिजीवीहरु पांच दलिय गठबन्धनका उम्मेद्वारलाई जिताउनु पर्ने बताएका हुन् ।दुई पटकसम्म संसद विघटन गरेको नेकपा एमालेलाई जिताएमा संविधान, संघीयता र व्यवस्था समेत संकटमा पर्ने भएकाले जसरी पनि पाँच दलिय गठबन्धनका उम्मेद्वारलाई जिताउनु पर्ने उनीहरुको भनाई छ । पांच दलिय गठबन्धनको तर्फबाट बटवल उपमहानगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डेय र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेद्वार हुनुहुन्छ ।

कार्यक्रममा मेयर पदका उम्मेद्वार पाण्डेले चुनावलाई स्वच्छ र स्वतन्त्र बनाउन भुमिका खेलिदिन आग्रह गर्नुभयो । उहाँले सुकुम्वासी र भूमिहिनको समस्या समाधान गर्न के गर्न सकिन्छ सुझाव सल्लाह दिन पनि आग्रह गर्नुभयो । गएको पाँच वर्षमा मेयर जितेको एमालेबाट जनताको अपेक्षा अनुसारका कुनैपनि काम हुन नसकेको बताउँदै समग्र बुटवलको विकासको लागि गठबन्धनको जीत अनिवार्य रहेको भनाई राख्नुभयो ।त्यस्तै उपमेयर पदका उम्मेद्वार गुरुङले बुटवलको आवश्यकता र बुटवललाई कस्तो बनाउने भन्ने विषयमा पनि बुद्धिजीवीहरुको सुझाव सल्लाह महत्वपूर्ण हुने बताउनु भयो । उहाँले चुनाव जितेमा गरिएको संकल्प र प्रतिवद्धता अक्षरश पालना गरिने बताउनु भयो ।

काँग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश राना, निर्वाचन परिचालन समितिका संयोजक तथा काँग्रेस प्रदेश सदस्य रामबहादुर कार्की लगायतका नेताहरुले गठबन्धनको जीतको लागि माहौल बनाईदिन बुद्धिजीबिहरुलाई आग्रह गर्नुभएको थियो ।त्यस अवसरमा प्राध्यापक डा. बुद्धबहादुर थापाले यस अगाडिको एमाले सरकारले बुद्धिजीवीहरुलाई उपेक्षा गरिएको बताउनु भयो । नगरपालिकाबाट ठूलो अपेक्षा गरिएको अहिले गठबन्धनको पक्षमा बनेको माहौलको उपयोग गर्न बुद्धिजीवीहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै कानुनविद् गोकर्णसिंह थापाले एमाले संविधान समाप्त पार्न उद्धत भएकाले र अदालतले त्यसलाई नसच्याएको भए अहिले यो व्यवस्था सकिसक्ने टिप्पणी गर्नुभयो । त्यतिवेला काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संविधान र व्यवस्था रक्षाको लागि नेतृत्व गरेका कारण व्यवस्था र संविधान रहेको भन्दै संविधानको सफल कार्यान्वयनको लागि गठबन्धनको जीत अनिवार्य रहेको भन्दै आस्था र विचार भन्दा पनि संविधान र व्यवस्थाको रक्षा तथा विकास र समृद्धिको लागि पनि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभयो ।त्यस्तै उहाँले संविधान मास्न उद्धत प्रतिगामी एमालेले राजसंस्थाका नारा बोकेको अर्काे प्रतिगामी राप्रपासंग चुनावी समिकरण गरेर आफ्नो खास राजनीतिक गन्तव्य तय गरेको टिप्पणी गर्नुभयो ।प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष मदन कट्टेलले बुटवलको मेयर शिवराज सुवेदीको सम्पत्तिको स्रोत खोजी गर्नुपर्ने बताउनु भयो ।कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष शोमनाथ गिरी, दामोदर घिमिरे, आशिष न्यौपाने लगायतले भनाई राख्नुभएको थियो ।