बुटवल, २५ बैशाख । रुपन्देहीको देवदहका अब्यवस्थित बसोबास र सुकुम्बासी समस्यालाई समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहने मेयरका उम्मेदवार हिराबहादुर खत्रीले बताउनुभएको छ । देवदहका विभिन्न वडाहरुको घरदैलो गर्नु भएका खत्रीले देवदह वडानम्बर १० चरङ्गे, मुडाबास र भलुहीको घरदैलो कार्यक्रममा त्यसका स्थानीयहरुसँग सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको हो । वडानम्बर १० का विभिन्न टोलहरुमा आईतबार पुग्नु भएका खत्रीले सुकुम्बासी समस्याले गर्दा नागरिकले धेरै समस्या झल्नु परेको उल्लेख गर्दै अबको दुई वर्षपछि ति समस्या समाधानका लागि मार्ग प्रसस्त गरिएको हुने बताउनुभयो ।
गठबन्धनबाट मेयरका उम्मेदवार बन्नुभएका काँगे्रेस नेता खत्रीले शिक्षा, स्वास्थ्य, पर्यटनसँगसँगै अब्यवस्थित बसोबासको समस्या हल गर्ने आश्वासन दिनुभयो । उहाँभन्नुहुन्छ–‘रुपन्देहीमै पहिलो पटक देवदहमा हामीले सुकुम्बासी तथा अब्यबस्थित बसोबास क्षेत्रमा लगत संकलन सम्पन्न गरि सकेका छौ । जग्गा नापजाँच र कित्ताकाट समेतको सुरुवात गरिएको छ । आगामी दुईबर्ष भित्र लालपुर्जा बितरण गर्ने प्रतिबद्धतालाई हामी पुरा गरेरै छाड्नेछौ ।
यस्तै अन्य वडामा जस्तै वडानम्बर १० को चरङ्गेमा चारलेनका सडक निर्माण भई रहेको र केही सम्पन्न भएकाले समग्र वडानम्बर १० को खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य लगायतका समस्यालाई चाडैनै सम्बोधन गर्ने गरि काम अगाडि बढाउने बताउनुभयो । वडानम्बर १० को घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार खत्री, उपमेयरका उम्मेद्वार तथा माओवादी केन्द्रकी नेतृ सुन्दरी गिरी, वडानम्बर १० को वडाध्यक्षका उम्मेदवार एकबहादुर सुनार लगायतले १० को विकासमा सबैको हातेमाले र सहकार्य आवश्यक रहेकाले आम नागरिकले गठबन्धनलाई जिताउन आग्रह गर्नु भयो ।












