एमाले सचिव तथा पूर्वमन्त्रीको वडामा एमालेको लज्जास्पद हार

प्रकाशित मिति:

प्रकाश डोटेल-स्याङ्जा, जेठ ५, नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री पद्माकुमारी अर्यालको वडामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । एमालेको गढ (आधार क्षेत्र) मानिएको वालिङ नगरपालिका वडा नम्वर १४ मा काँग्रेसको प्यानल नै विजयी भएको हो ।काँग्रेसका राजु कुँवरले वडा अध्यक्षमा ७९९ मतान्तरले एमालेका उम्मेदवार कृष्ण डुम्रेलाई पराजित गरेका छन् । अध्यक्षमा निर्वाचित कुँवरले १८ सय ९४ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी डुम्रेले १ हजार ९५ मत प्राप्त गरेका थिए । एमालेका तर्फबाट सदस्य पदका अन्य ४ उम्मेदवारहरु समेत तीन सय बढी मतान्तरले पराजित बन्न पुगेका छन् ।

पूर्वमन्त्री अर्यालले तिवारी पसलको मतदान केन्द्रमा मतदान गरेकी थिईन् । वालिङ नगरपालिकाका अधिकांश वडामा एमाले उम्मेदवार निर्वाचित हुँदा अर्याल कै वडामा एमालेले लज्जासपद हार व्यहोर्न बाध्य भएको छ । वडामा मत बढाउनका लागि चुनावी प्रचारका क्रममा अर्यालले सो क्षेत्रमा घरदैलो समेत गरेकी थिईन् । पार्टी भित्रको आन्तरिक द्धन्द्ध व्यवस्थापन गर्न असफल सावित एमाले सचिव अर्याल जिल्लाका अन्य पालिकामा चुनावी रणनीतिमा समेत असफल बनेकी छन् । जिल्ला सदरमुकामको पुतलीबजार र गल्याङ नगरपालिकामा प्रमुख र उपप्रमुख तथा अधिकांश वडाहरुका धेरै पद एमालेले गुमाएको छ । अर्यालकै जोडबलमा नगरप्रमुखको उम्मेदवार बनेकी एमालेकी केन्द्रीय सदस्य सीमा क्षेत्री पुतलीबजार नगरपालिकामा नमिठो हार व्यहोरेकी छन् । उता अर्जुनचौपारी गाउँपालिकामा समेत आफ्नो पकड गुमाउन पुगेको एमालेको तर्फबाट जिल्ला अध्यक्ष सुर्य प्रसाद गैह्रे ‘पारस’ गल्याङको नगरप्रमुखमा पराजित बनेका छन् ।

काँग्रेसभित्रको अन्तरद्धन्द्धको फाईदा उठाउदै एमालेले वालिङमा नगरप्रमुखमा बाजी मारेको भए पनि आफ्ना बिरोधीहरुलाई भित्तामा पु¥याउने एमाले सचिव अर्यालको रणनीतिले जिल्लाका अधिकांश वडामा पनि एमाले पराजित भएको पार्टी सम्बद्ध श्रोतले जनाएको छ ।वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँणले बाजी मारेका छन् भने उपप्रमुखमा काँग्रेसकी कविता तिवारीले आफ्नो पोल्टामा पार्न सफल भएकी छन् । नगरप्रमुखमा खाँणले व्यक्तिगत प्रयासमा बाजी मारेको एमाले श्रोतको दाबी छ । अर्यालकै गृह नगर वालिङमा काँग्रेसको कार्यपालिकामा बहुमत पुगेको छ ।स्याङ्जा क्षेत्र नं. १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नारायण मरासिनीलाई राजनीतिक धरापमा पार्नेे अर्यालको अभिष्ठले जिल्लामा एमाले समस्यामा परेको एमाले बृत्तमा चर्चा छ । अर्यालको महत्वकांक्षाले जिल्लामा एमाले खस्कदो र समस्याग्रस्त बन्दै गएको उनीहरुको बुझाई छ ।यसैबीच अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा समेत पराजित भएका छन् । त्यो पनि २६ बर्षका सम्भब अर्यालसँग झण्डै ५ सय मतान्तरले । वालिङ १ को वडा सदस्य जितेर जिल्ला समन्वय समिति स्याङ्जाको सभापति बन्ने पौडेलको अभिलाशा श्रीमतीको बढ्दो हालिमुहालिले तुषारापात भएको छ ।

उता जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार बगाले पनि वडा सदस्यमा नै पराजित भएका छन् । बगाले वालिङ वडा नम्वर १० मा सदस्य लडेका थिए । ८० प्रतिशतको हाराहारीमा एमाले सम्बद्ध मतदाता रहेको भनिएता पनि गल्याङ ६ मा काँग्रेस बिजयी भएको छ, त्यस्तै एमालेमय दाबी गरिएको वालिङ १० मा पनि एमालेले लज्जास्पद पराजय भोगेको छ । स्थानीय तह निर्वाचनमा सार्वजनिक भएसँगै एमालेकी सचिव अर्यालले मन्त्री हुँदा गरेका कुकृत्यहरुको चर्चा बढ्न थालेको छ । मन्त्री पदमा रहदा पत्रकारलाई नगद वितरण गरेको, श्रीमान मार्फत जिल्लामा रासानिक मलमा मनपरी गरेको, ठेक्कापट्टामा भागबण्डा लिएको, नक्कली कृषक खडा गरेर अनुदान कुम्ल्याएको जस्ता विषयहरु पछिल्लो समय जिल्लामा चर्चा छ ।