सिद्धार्थनगरको मेयरमा कांग्रेसका खान र उपमेयरमा एमालेकी अधिकारी निर्वाचित

प्रकाशित मिति:

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सिद्धार्थनगरको नगर प्रमुखमा नेपाली काँग्रेसका इन्तियाक अहमद खान निर्वाचित भएका छन्। खानले ९ हजार १३४ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातान्त्रिक पार्टीका मेयरका उम्मेदवार सागरप्रताप राणाले ८ हजार १३७ मत ल्याएका छन्। यो नगरमा नेकपा एमाले तेश्रो भएको छ। एमालेका मेयरका उम्मेदवार डा।रामप्रसाद बस्यालले ७ हजार ३०५ मत पाए।

उपमेयरमा भने नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भइन्। अधिकारीले ८ हजार ८१३ मत ल्याइ उपमेयरमा विजयी भएकी हुन्। निकटम प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार विनिता गुप्ताले ६ हजार ५४४ मत ल्याइन्। गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार माओवादी केन्द्रकी कमला थापाले जम्मा ४ हजार ५४२ मत पाइन्। १३ वटा वडा रहेको सिद्धार्थनगरमा ५ वटा वडा नेपाली काँग्रेसले,४ वटा वडा एमालेले , ३ वटा वडामा राप्रपाले र एउटा वडामा जसपा विजयी भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए।

सिद्धार्थनगर १ को अध्यक्षमा जसपाका उज्जवल पोखरेल विजयी भएका छन्। राप्रकाबाट वडा नं।२ को अध्यक्षमा छेदीलाल श्रीवास्तव,३ को अध्यक्षमा नारायण शर्मा उपाध्याय र ४ को अध्यक्षमा मुक्तिनाथ यादव विजयी भएका छन्। नेपाली काँग्रेसबाट ५ को अध्यक्षमा पुरनप्रसाद श्रेष्ठ,६ को अध्यक्षमा वीरेन्द्र श्रीवास्तव,७ को अध्यक्षमा दामोदर शर्मा घिमिरे,८ को अध्यक्षमा राजनजंग राणा र १३ को अध्यक्षमा सोमबहादुर गुरुङ विजयी भएका छन्। एमालेबाट वडा नं।९को अध्यक्षमा शेषकान्त भण्डारी,१० को अध्यक्षमा सुर्जमन अहिर यादव,११ को अध्यक्षमा दिलिपकुमार यादव र १२ को अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।